सहकारीहरुमा फसेको बचत फिर्ता गराइदिन मागसहित काठमाडौंमा विरोध प्रदर्शन !

अन्य आर्थिक परिवेश मुख्य खबर

काठमाडौँ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले सहकारीहरुमा फसेको बचत फिर्ता गराइदिन मागसहित काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता पीडितहरुले सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेत बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए ।

संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकायहरु धाउँदा कतै पनि सुनुवाई नहुँदा संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताइन् । उनले सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने सरकारसँग माग गरिएको बताइन् । सहकारीमा बचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितहरु सडक आन्दोलनमार्फत न्याय माग्न बाध्य भएको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाई कतैबाट पनि नभएको उनले गुनासो गरिन् । अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरु एकै ठाउँमा रहेको पनि उनले बताइन् ।

उनीहरुले रगत–पसिनाले कमाएको पीडितहरुको पैसा फिर्ता गर, बचतकर्ता रकम अविलम्व फिर्ता गर, आम नागरिकको बचत फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर, सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर, सम्पूर्ण ठग सहकारीहरुलाई कारबाही गर, सरकार हामीलाई न्याय दे, फरार सहकारी सञ्चालनको तत्काल खोजी गर, लगायत नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *