नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले विकलाई सार्वजनिक गरेको हो। विकले निराको हत्या गरेको स्वीकारेका छन्।
पत्रकार सम्मेलनमा ब्युरोका एसएसपी दिनेश आचार्य दिएको जानकारीअनुसार वैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन्। प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक-पटक हानेर निराको हत्या गरेका थिए। निरा सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्। पक्राउ परेका विक झापामा क्यासिनोमा काम गर्थे। त्यही क्रममा उनमा जुवा खेल्ने लत बस्यो।
उनलाई तीन लाख रुपैयाँ ऋण लागेको थियो। त्यसपछि उनी झापा छोडेर काठमाडौं आएका थिए। काठमाडौंमा उनी नाइट क्लबमा बाउन्सरको काम गर्थे। सोझो हिसाबले काममात्र गर्दा खर्च चलाउन र ऋण तिर्न नसकेपछि उनी लुटपाटमा लागेका थिए।
‘त्यही क्रममा निराको पसलमा लुटपाट गर्न जाँदा प्रतिकार गरेपछि हत्या गरेको अभियुक्तले स्वीकारेका छन्,’ आचार्यले भने,‘हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका रहेछन्।’