बझाङ्ग – नेपाल सुन्दर, शान्त र प्राकृतिक दृष्टिले रमणीय, विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका धेरै हिमाल असंख्य नदीनाला, ताल तलैया, छहरा, हरिया वनजंगल, भन्ज्याङ, चौतारी र लेकबेशीले सिंगारिएको देश हो । भौगोलिक दृष्टिले हिमाल, पहाड र तराईमा विभक्त यो देश गौतम बुद्धको जन्मभूमि र जनकको कर्मभूमि ले विश्वमा नै चिनिएको छ । साँच्चै नै यो देश धार्मिक तथा पर्यटकिय स्थल क्षेत्रमा विश्वमा चिनिएको थोरै मध्येको एक हो । अनि साँस्कृतिक; भाषिक विविधताको सुन्दर फुलबारी हो भन्नुमा अत्युक्ति नहोला ।
देशकै सुदूरपश्चिम प्रदेशको कुरा गर्दा यहाँ थुप्रै मनमोहक रमणीय धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । बझाङ जिल्लाको सन्दर्भमा हेर्दा बुङगल नगरपालिका वडा नं. ७ मा पर्ने पूरमचुली टाँकुरा पनि एक प्रमुख स्थल हो ।
बझाङ बैतडी र दार्चुला जिल्लाको सिमानामा पर्ने पूरमचुली टाँकुरा ३४६२ मिटरको उचाइमा अवस्थित छ । हाल यो ठाउँ सिद्धनाथ देवताको धार्मिक स्थलका रुपमा पर्यटकीय क्षेत्रमा विकसित हुँदै गएको छ । यहाँ हाल सिद्धनाथको पैगोडा शैलीको मन्दिर काठ र ताम्रपत्रको प्रयोगबाट निर्मित भएको छ । यसको नजिकै चुचुरोमै नवआगन्तुकका लागि सामग्री सहितको आवासगृह तथा २० हजार लिटर क्षमताको आकासे पानी संकलन गर्ने ट्यांकी पनि निर्माण गरिएको छ । यस क्षेत्रको यो सबैभन्दा अग्लो चुली पनि हो । यो अपि हिमालको सामुन्नेमा देख्न सकिन्छ ।
यस ठाउँमा पुग्न बझाङ जिल्लाको बागथला हुँदै बुङगल नगरपालिका वडा नं. ७ कफलसेरी भएर दहझार ताल सम्म सडक बाटो भएर जान सकिन्छ भने त्यहाँबाट उकालो घोरेटो बाटो भएर चिल्ठा गाउँ हुदै नाइसी खर्क र सुगरखाली भएर चुचुरोसम्म पुग्ने बेलामा सिंढी चढ्नुपर्छ । यसको चुचुरोभन्दा तलबाट करिब १ कि.मि. सिंढी निर्माण गरिएको छ । चुचुरोमा पुगेपछि चारैतिरको मनमोहक दृश्य हेर्न सकिन्छ। विशेषगरी बिहानको सुर्योदय र साँझको सूर्यास्त हेर्दा इलामको अन्तु डाँडा भन्दा कम होला भन्न सकिन्न । यहाँबाट उत्तरतिर उच्च हिमश्रृंखलाहरु अपि हिमाल लगायतका सुन्दर दृश्यहरु देख्न सकिन्छ । यसैले धेरै ठाउँको अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रको पर्यटकीय महत्व बढ्दै गएको छ ।
ऐतिहासिक पृष्ठभूमि:
बझाङ बैतडी र दार्चुला जिल्लाको संगम चुली भू-परिधिबाट उठेको पूरमचुलिको उचाई समुद्र सतहबाट ३४६२ मिटर रहेको छ । शिव महादेव कैलाशबाट आउँदा अपि हिमाल गाउँपालिका वाड नं. १ मा रहेको सिति महादेवको स्थानबाट पूरमचुली बास गरी बड्डिज्यावन पुगेको र साथमा काग आएको जौको दाना लिएर मेलको रुखमा छोडेको; पछि गोठालाले देखी तामाको मानो लिएर त्यसमा माडेको अनि मानो भरिएको पछि घरमा ल्याई तौलामा राखेको थियो । त्यो पनि भरिएको अनि उक्त परिवारले भरिएर खसेको दाना खान थालेँ । एकदिन एकजना पाहुना आउँदा अब रोटी पुग्दैन भने तौलीबाट झिकेर पिस्न थाले । त्यसपछि ताउलीको जौ अन्न घट्दै गयो । त्यस ताउलीको जौ छर्नेगरी ज्यावनमा जौ खेती सुरु भयो । त्यही जौले त्यहाँका देवताको पूजा लाग्ने भयो । यसैगरी थानपाटनको फुलबारीबाट फूल ल्याई पूजा गर्ने चलन भयो भन्ने भनाइ रहेको छ । सिति महादेवको घुसामा पूजा गर्दा हातमा राखेर पूजा गरिने प्रसाद कागले अहिले पनि मान्छेको आजबाट टिपेर लैजाने गर्छ भनी त्यहाँका स्थानीय बासीहरुको भनाई रहेको छ ।
दहझार ताल र पूरमचुलीको सम्बन्ध:
दहझार कुण्ड र पूरमचुलिको विशेष सम्बन्ध रहेको मान्यता रहिआएको छ । दहझार कुण्डमा स्नान गरी कमण्डलुमा जल लिएर पूरमचुलीमा पूजा गर्न जाँदा मनको सोचेको पुण्य मिल्ने जनविश्वास रहिआएको छ ।

पूरमचुलीको जंगलबाट बाह्रसिंगे जरायो गाईको फौजमा आएर दहझार तालमा गएको त्यहाँ स्थानीयवासी एकजनाले गोली हान्दा मृगलाई कुनै चोट नलागेको अनि धेरै जनाले घेरा हाल्दा मृग भागेर गएको थियो भनि बुढापाकाहरू बताउँछन् । उक्त गोली हान्ने मान्छेको पछि नराम्रो हुदै गएको थियो । बि. सं. २०१५ सालतिरको कुरा थियो त्यस तालको माछालाई एकजना भोटे बाख्रा वालाले मार्न खोज्दा पछि सर्प भएको थियो रे । त्यसपछि उक्त भोटेका दुईवटा केटाकेटी र बाख्राहरु पनि सखाप भएको कुरा सुनिन्छ । हाल उक्त तालको छेउमा मन्दिर बनाई तालको संरक्षण गरिएको छ । नागदर्शन दहझार तालको विशेषता हो उक्त कुरा मानस खण्ड स्कन्ध पुराणमा उल्लेख गरेको पाइन्छ ।
बझाङ जिल्लाको बुङगल नगरपालिका वडा नं. ७ र ८; दार्चुलाको मार्मा गाउँपालिका वडा नं. १,२,३ र बैतडीको साविकको कोटपेटरा गा.बि.स. वार्ड नं. २ को भू-धरातल बाट उठेको पूरमचुली पहाड अति सुन्दर ऐतिहासिक प्राचीन श्री पूरमचुली सिद्धनाथ धार्मिक तथा पर्यटकिय स्थल आफैंमा बहुमूल्य वनस्पति र जैविक सम्पदाले भरिपूर्ण धामको रुपमा परिचित छ । उक्त चुली नेपालकै रुख भएको उच्च चुलीको रुपमा रहेको छ भन्दा अतियुक्ति नहोला । हिमालदेखि तराईसम्म कुनैपनि नदीले नकाटेको नछेकेको पहाडको रूपमा रहनु यस चुलीको प्रमुख विशेषता हो । यहाँबाट देखिने अत्यन्त मनमोहक दृष्यका कारण ओर्लिने क्रममा कतिपय यात्रीहरुमा पथभ्रम समेत हुने गरेको दृष्टान्त पाइन्छ ।
अर्को किंवदन्ती अनुसार भगवान शिव पार्वती कैलाश पर्वत जाँदा यस ठाउँमा बास बसेको विश्वास गरिन्छ । त्यसैले यस पुण्य धामको दर्शन गर्दा पुत्रलाभ प्राप्ति हुने विश्वाससमेत रहेको पाइन्छ । शुद्ध र सच्चा मनले सो देवभूमिमा आइ पुजापाठ गरेमा घरमा शान्ति हुनुका साथै शुभ लक्षण देखिने कुरामा भक्तजनको ठूलो विश्वास रहेको पाइन्छ । यस क्षेत्रमा प्रवेश गर्दा भक्तजनले धेरै कुराहरुको पालना गर्नुपर्ने हुन्छ । यहाँ पशुबलि गर्न पूर्णरुपमा निषेध गरिएको छ; यसैगरी मध्यपान, मांशहार, जुठो सुतकमा प्रवेश निषेध; कम्तिमा एक हप्ताअघिदेखि सफा, शुद्ध हुनुपर्ने; फोहोरजन्य बस्तुको व्यवस्थापन र वन सम्पदालाई हानि हुने खालका कार्यहरु गर्न पूर्णरुपमा निषेध गरिएको छ ।
यस क्षेत्रको अर्को महत्वपूर्ण पक्ष भनेको सिद्धनाथ धार्मिक वन हो । यो पूरमचुली धार्मिक वन जिल्लाकै पहिलो बन हो । यसको क्षेत्रफल ५६.६ हेक्टर रहेको छ । यस वनमा विभिन्न जातका बहुमूल्य वन पैदावार र दुर्लभ वन्यजन्तुहरु पाइन्छन् । वनस्पतिमा पनि विभिन्न जातका सल्ला, भोजपत्र, गुराँस, निगालो, लौठ सल्ला, कापर पाइन्छन् भने दुर्लभ जडिबुटीमा पाँच औंले, कटुकी, सतुवा, चिराईतो, वन लसुन आदि पाइन्छन् यसैगरी वन्यजन्तुहरुमा कस्तुरी, मृग, बँदेल, भालु, चितुवा, थार, घोरल आदि हुन्छन् भने पंक्षिहरुमा डाँफे, कालिज, तित्रा, च्याखुरा आदि रहेका छन् ।
यहाँको जंगलमा पाइने निगालोको चोया बाट हजारौं स्थानीय बासीहरुले विभिन्न सामाग्री बनाएर हाटबजार, मेला, शिवरात्रीमा बिक्री वितरण गरी प्रशस्त आय आर्जन गर्ने गरेका छन् । यहाँबाट बैतडीको गोकुलेश्वर शिवरात्रि मेला र पुर्चौडी हाटको मेलासम्म पनि यी सामग्रीहरुको पुग्ने गरेका छन् । यो यहाँको एक आम्दानीको स्रोत पनि हो ।
यहाँको बनको उपभोक्ता समितिमा बझाङ बुङगल नगरपालिका वडा नं ७ र ८; दार्चुला मार्मा गाउँपालिका लटिनाथ र गुल्जरका बासिन्दाहरु समेटिएका छन् । हालसम्म जम्मा उपभोक्ता घरधुरी संख्या ४६०० रहेका छन् भने तीन सयजनाभन्दा बढी आजीवन सदस्य रहेका छन् । यसैगरी साधारण सदस्यहरु २००० भन्दा बढी रहेका छन् । यहाँको प्रमुख समस्या भनेको पासा थापेर चोरी शिकार गर्ने रहेको छ ।
धार्मिक पर्यटन तथा वन समूहको उद्देश्य:
यस क्षेत्रमा रहेको वन सम्पदाको संरक्षण सम्बर्धन एवं दिगो व्यवस्थापनका लागि पहल गर्ने ।
यस भू-परिधिसंग जोडिएका सामुदायिक वन तथा बस्तीहरुमा धार्मिक कृषि र वन पर्यटनको विकासका लागि पहल गर्ने।
यहाँको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूको जगेर्ना गर्न क्रियाशील रहने।
जैविक विविधता, संरक्षण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका साथै अनुकूलन सम्बन्धी चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने।
धार्मिक प्रवचन, अनुष्ठानका अमृतमय सन्देशहरूको प्रसारण गर्न योगदान पुर्याउने।
दृश्यावलोकन:
यहाँबाट अपि हिमाल लगायतका विभिन्न हिम टाकुराहरु; भारतको पिथौरागढका केही भाग र २/३ ओटा जिल्लाका केही सुन्दर स्थलहरु देख्न सकिन्छ ।
यसैगरी अन्य हेर्नलायक दृश्यहरुमा दहझार ताल, नाइसी, चिल्ठा गाउँ, सुँगरखाली, पूरमचुली टाकुरा र यसको मन्दिर परिसर, वनजङ्गल र वनस्पतिको दृश्य
विभिन्न जंगली जनावरहरू
सूर्योदय र सूर्यास्तको दृश्य आदि रहेका छन्
विभिन्न किसिमले हेर्दा पूरमचुली पर्यटनको गन्तव्य स्थल हो भन्न सकिन्छ यस स्थलका केही विशेषताहरु निम्नानुसार रहेका छन् :
हिमालदेखि तराईसम्म कुनै ठाउँमा नदिले नछेकेको अग्लो थुम्का।
रुख भएको नेपालकै सबैभन्दा अग्लो चुली ।
कृषि, वन र धार्मिक पर्यटनको सम्भावना स्थल।
Eco-tourism को सम्भावना।
सुर्योदय र सूर्यास्तको सुन्दर दृश्य बोकेको स्थल तथा साँझ रातिसम्म सूर्य देख्न सकिने।
धार्मिक स्थल पूरमचुलीको बिकास गर्नका लागि केही भावी योजनाहरु थपिंदै गइरहेका छन् । यस वर्ष १७ हजार सिडि थप गरी धार्मिक पर्यटन मार्गको स्तरोन्नती गरिने छ भने तिनओटा मन्दिर तीनओटा पार्क र तीनवटा आवास गृह निर्माण गर्ने योजना रहेको छ । यसैगरी पर्यटकहरुको सुविधाका लागि विद्युत् लाइन माथि चुचुरो सम्म नै पुर्याउने लक्ष्य रहेको यसका भिजनकर्ता तथा उपभोक्ता समितिका सचिव विष्णु भक्त जोशीले बताएका छन् । यसैगरी बुंगल नगरपालिकाले यो क्षेत्रलाई पर्यटकीय स्थल घोषणा गरिसकेको छ भने बुङ्गल नगरपालिका वडा नं ७ का वडाध्यक्षको टङ्क प्रसाद जोशी र धार्मिक वन उपभोक्ता समितिका अध्यक्ष कमान सिंह ठगुन्ना अनि सचिव विष्णु भक्त जोशी यो क्षेत्रलाई विकास गर्न लागि परेका छन् ।
अत: पूरमचुली विशेष महत्व बोकेको धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्नु आवश्यक भइसकेको छ । यसका लागि स्थानीय सरकार, बुद्धिजीवी, सञ्चारकर्मी, उपभोक्ता समिति आदिबाट पर्याप्त सहयोगको अपेक्षा गरिन्छ । अस्तु !!!!
लेखक : शि. ऐनबहादुर सिंह श्री महेन्द्र आधारभूत विद्यालय बुंगल न.पा.६, हापेखोला बझाङमा कार्यरत ।
स्रोतव्यक्ति : श्री विष्णु भक्त जोशी बुंगल न.पा. ७ भिजन कर्ता, संस्थापक तथा धार्मिक वन तथा उपभोक्ता समिति









