काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । जिल्ला प्रहरी काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार २ नम्बर गणमै राखिन लागेको हो ।
यसअघि पक्राउ लगत्तै उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो । ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा आज विहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले जरुरी पक्राउ पुर्जी जारी गर्दै आज बिहानै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री ओली र रमेश लेखकलाई गिरफ्तार गरेको थियो । ओलीलाई दिइएको पक्राउ पुर्जीमा लेखिएको छ, ‘तपाईंलाई ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’ लेखकको हकमा पनि यही भाषा लेखिएको बताइएको छ ।
जेन्जी आन्दोलनको घटना जाँचबुझका लागि गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस गरे बमोजिमको कारबाही प्रक्रिया तत्काल थाल्ने बालेन्द्र शाह सरकारको पहिलो निर्णयलगत्तै ओली र लेखकलाई पक्राउ गरिएको हो । सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति बनाउने सरकारको निर्णय छ ।
गौरी आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि लापरबाही र हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोगमा कारबाही गर्न सिफारिस गरिएको छ । आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ (१) र १८२ बमोजिमको कसूरमा अनुसन्धान र अभियोजन गर्न भनेको छ ।









