८ चैत २०८२, आइतबार \ काठमाडौं । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ ।
चैत्र शुक्ल प्रतिपदादेखि रथ बनाउन सुरु गरिएको गुठी संस्थानले जनाएको छ । चैत्र शुक्ल सप्तमी अर्थात् चैत्र ११ गते रथ बनाइसकिने संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए ।
यही चैत्र १२ गते दिउँसो ४ बजेदेखि तीनधारा पाठशालाबाट सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुनेछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दशमीसम्म राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिन्छ ।
यस वर्ष पहिलो दिन चैत १२ गते रथ असन पुर्याइने छ । रथ असन पुगेपछि पूजा, आराधना गरिनेछ । सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने हुनेछ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनस् रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर समापन हुनेछ । रथ निर्माणका लागि काठलगायत व्यवस्था संस्थानले गर्ने चलन छ ।
चैत्र शुक्ल अष्टमीका दिन चैत १२ गते कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गर्ने परम्परा रहेको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका वडा नंं २५ का पूर्वअध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले जानकारी दिए ।









