
८ चैत २०८२, आइतबार \ काठमाडौं । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ ।
चैत्र शुक्ल प्रतिपदादेखि रथ बनाउन सुरु गरिएको गुठी संस्थानले जनाएको छ । चैत्र शुक्ल सप्तमी अर्थात् चैत्र ११ गते रथ बनाइसकिने संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए ।
यही चैत्र १२ गते दिउँसो ४ बजेदेखि तीनधारा पाठशालाबाट सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुनेछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दशमीसम्म राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिन्छ ।
यस वर्ष पहिलो दिन चैत १२ गते रथ असन पुर्याइने छ । रथ असन पुगेपछि पूजा, आराधना गरिनेछ । सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने हुनेछ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनस् रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर समापन हुनेछ । रथ निर्माणका लागि काठलगायत व्यवस्था संस्थानले गर्ने चलन छ ।
चैत्र शुक्ल अष्टमीका दिन चैत १२ गते कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गर्ने परम्परा रहेको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका वडा नंं २५ का पूर्वअध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले जानकारी दिए ।
८ चैत २०८२, आइतबार/ कपिलवस्तु । कपिलवस्तुमा शनिबार बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद अझैसम्म साम्य भएको छैन । कपिलवस्तुको महराजगञ्जका केही ठाउँमा अहिले पनि स्थानीय युवाले प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक प्रकाश कुँवरले अहिले पनि केहि ठाउँमा प्रदर्शन भइरहेको जानकारी दिए । उनले प्रदर्शन रोक्न केही ठाउँमा लाठीचार्ज समेत गरिएको बताए ।
मुस्लिमहरूले इद मनाउँदै गर्दा शनिबार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदाय बिचमा झडप भएको थियो । सो क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए भने केही प्रहरी घाइते भएका थिए । स्थानीय प्रशासनले हिजो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
८ चैत २०८२ आइतबार / काठमाडौँ । ललितपुरमा आइतबार बिहान इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार ललितपुर महानगरपालिका- २८, हरिसिद्धीस्थित होसना इँटाभट्टाको पर्खाल भत्किएको हो।
‘घटना बिहान १०:१० बजेतिर भएको हो’, उनले भने, ‘इँटाभट्टामा काम गर्ने क्रममा इँटाभट्टाको पर्खाल भत्किँदा ५ जना घाइते भएका थिए। तीमध्ये रुकुम घर भई हाल सो इँटाभट्टामा काम गर्ने वर्ष ५५ की तिल्सरी खड्काको उपचारका क्रममा (मेडिसिटी अस्पतालमा) बिहान १०:३० बजे मृत्यु भयो।’
एसपी मिश्रका अनुसार अन्य घाइते रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षकै शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमालको भने उपचार जारी छ।
घाइतेमध्ये जानकीको अवस्था भने गम्भीर रहेको उनले बताए। उनका दुवै हात, खुट्टा र टाउकोमा चोट लागेको छ भने बोल्न सक्दिनन्। थप उपचारका लागि उनलाई मेडिसिटीबाट मोडल अस्पताल रिफर गरिएको उनले बताए।
अन्य घाइतेको अवस्था मध्यम छ।
८ चैत २०८२, आइतबार/ काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले नेकपा एमालेकी नेतृ एवं समानुपातिक सांसद पद्मा अर्यालमाथि आक्रोश व्यक्त गरेका छन्। नयाँ राजनीतिक शक्ति र युवा नेताहरूलाई तह लगाउनेु भन्ने अर्यालको अभिव्यक्तिप्रति लक्षित गर्दै पुनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।
पुनले अर्याललाई आफ्ना नेताले सिकाए जस्तो स्वाँठ र मूर्ख नबन्न सुझाव दिँदै अहिलेका युवाहरू पुराना नेताहरूभन्दा सयौँ गुणा जान्ने र चलाख भएको दाबी गरेका छन्।
पुनले लेखेका छन्, तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरूलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरूलाई राम्रोसँग थाहा छ।उनले गत आम निर्वाचनमा जनताले पुराना दलहरूलाई तह लगाइसकेको स्मरण समेत गराएका छन्।
पुनले अर्यालको राजनीतिक हैसियतमाथि प्रश्न उठाउँदै उनलाई चाकरी गरेर समानुपातिक कोटामा आएकीु नेताको संज्ञा दिएका छन्। उनले भनेका छन्, चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरू त्यसरी साह्रै अहङ्कारी बन्नु हुँदैन। उनले अहङ्कार त्यागेर विवेकपूर्ण तरिकाले सहकार्य गर्न समेत सुझाएका छन्।
विगत ३५ वर्षमा संसार धेरै अगाडि बढिसकेको उल्लेख गर्दै पुनले २०४६ सालदेखि अहिलेसम्म पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको र समय धेरै बदलिएको कुरा बुझ्न अर्याल र उनका समकालीन नेताहरूलाई आग्रह गरेका छन्।
८ चैत २०८२, आइतबार /काठमाडौं । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार यस वर्षबाट पुन: सुरु गर्ने भएका छन् ।
भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई)को रिपोर्टअनुसार, ६ वर्षको अन्तरालपछि उक्त भूमि हुँदै दुई छिमेकी देशले पुन: सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन् ।
पीटीआईले उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईलाई उद्धृत गर्दै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी सुरु भइसकेको दाबी गरेको छ ।
स्थानीयले पुलाङ–गुन्जी भन्ने लिपुलेक भञ्ज्याङ, कालापानी क्षेत्रमा अवस्थित तीनवटा गाउँहरूमध्ये एक हो । अहिले भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो ।
भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) जारी गरेपछि यो व्यापार पुनस् सुरु हुन लागेको हो ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमालयन भञ्ज्याङ हुँदै हुने व्यापार पुन:सुरु गर्न अनुरोध गर्दै पत्र लेखेको जानकारी दिएका छन् ।
८ चैत २०८२, आइतबार/ नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो ।
हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फसिरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
“पानी रोकिए पनि सडक सुधार हुनसकेको छैन, हिलो र लेदोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ”, उनले भने “पूर्वबाट पश्चिम जाने सवारीसाधन उकालोमा चिप्लिएकाले सञ्चालन हुनसकेका छैनन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी भने केही मात्रामा सञ्चालन भइरहेका छन् ।”
तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन् । लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सडकमा रोकिँदा गन्तव्यमा पुग्न ढिलाइ भएको छ । दाउन्ने खण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । अवरुद्ध सडक खुलाउन मर्मत तथा सुधारको प्रयास भइरहेको आयोजनाले जानकारी दिएको छ ।
यसैबिच, नारायणघाट–बुटवल सडक योजना कार्यालयले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । हाल साना तथा आकस्मिक सेवाका सवारीसाधनसमेत प्रभावित भएका छन् ।





