शिक्षक र विद्यार्थी समयमा विद्यालय नपुगे घर फर्काउने अभियान सुरु !

उज्यालो खबर मुख्य खबर

कैलाली । वर्तमान समयमा हाम्रो देशको शिक्षाको गुणस्तर खस्कँदो अवस्थामा छ । त्यसमा पनि सामुदायिक विद्यालयको अवस्था त कुरा गरी साध्य छैन् । शिक्षाको गुणस्तर सुधारमा नयाँ र रचनात्मक उपाय अवलम्बन गर्नु त र परको कुरा हो । सरकारले बनाएको नियम समेत प्रभावकारी रुपमा कार्यान्वयन गरेको पाईदैन । तर कैलालीको एक विद्यालयले भने शिक्षाको गुणस्तर सुधारका लागी भन्दै समयमा विद्यालय नपुग्ने शिक्षक तथा विद्यार्थीलाई घर फर्काउने अभियान सुरु गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० मा रहेको राष्ट्रिय नव जागृत माध्यामिक विद्यालयले समयमै विद्यालय नपुग्ने शिक्षक तथा विद्यार्थीलाई रोक लगाउन सुरु गरेको छ । १० बजे पछीको १ मिनेटमा गेटमा पुग्नेहरु पनि भित्र प्रवेश गर्न पाउदैनन् । विद्यालयले कडाईका साथ नियम लागु गर्न थाले पछि अल्छी गर्ने तथा प्रशासनलाई नटेर्ने केही शिक्षक र विद्यार्थीहरुले प्रवेश पाएका छैनन् ।

उसो त सरकारले नै १० देखी ४ बजे सम्म विद्यालयको समयसीमा निर्धारण गरेको छ । तर समयमा विद्यालय नआउने, विद्यार्थीमा भन्दा राजनीतिमा चासो दिने, विद्यालयमा हाजिर गर्नु मात्रै आफ्नो कर्तव्य सम्झने शिक्षकहरुका कारण शिक्षाको स्तर लाजमर्दो अवस्थामा पुगेको छ । यस विद्यालयमा पनि सरकारको मानो खाएर जिम्मेवारी पुरा नगर्ने शिक्षक तथा अनुशासनमा नबस्ने विद्यार्थीका लागी समिति तथा प्रशासन थप कडाइका साथ लागेको छ ।

करिब ९ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा २९ जना शिक्षक, कर्मचारी कार्यरत छन् । यस क्षेत्रकै पुरानो र धेरै विद्यार्थीहरु उत्पादन गरेको शिक्षालय भएकाले पनि यसलाई विशेष महत्वका साथ हेरिन्छ । विगत देखी नै मनोमानी गर्न पल्केकाहरुलाई लगाम लगाई शिक्षाको गुणस्तर सुधारमा जोड दिने व्यवस्थापन समितिको लक्ष्य छ ।

सरकारको नियमलाई कडाईका साथ कार्यान्वयन नगर्ने सामुदायिक विद्यालयहरुका बिच यस विद्यालयले भने उदाहरणीय कामको सुरुवात गरेको छ । औपचारिकताका लागी नभई शिक्षाको गुणस्तर सुधारका लागी अन्य विद्यालयहरुले पनि यो कार्यको सिको गर्न आवश्कय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *