टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको विनाशकारी भूकम्पमा परी हालसम्म सात हजार नौ सयको मृत्यु भएको छ।
हालसम्म टर्कीमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन्। प्रतिकूल मौसमको पर्वाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू संघर्ष गरिरहेका छन्।
उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघले २० हजार मानिस हताहत भएका अनुमान गरेको छ। उद्धार तथा राहतका काम प्रभावकारी ढंगले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन्।
टर्कीका विपत् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन्।
करिब ६ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ। सोमबार र मंगलबार कठ्यांग्रिने चिसो तथा बारम्बारको परकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको थियो।
टर्कीका राष्ट्रपति तैयप एर्दोगानले अति प्रभावित १० प्रान्तमा संकटकाल घोषणा गरेका छन्। क्षतिग्रस्त टर्कीका सहरका बासिन्दा पर्याप्त सहायता प्राप्त नभएका कारण निराश भएका छन्। उनीहरूले छानोविना आफूहरू हिउँमा बस्नुपरेको, आफ्ना आफन्त बेपत्ता भएका, उद्धारले अपेक्षित गति नलिएकामा दुःख व्यक्त गरेका छन्।
सोमबारको ७.८ म्याग्निच्युडको भूकम्प, त्यसको केही घन्टापछि झन्डै त्यति नै शक्तिशाली दोस्रो परकम्पले अस्पताल, विद्यालय र आवासीय भवनहरू ध्वस्त हुनुका साथै हजारौँ घाइते भएका छन्। उत्तरी सिरियामा पनि असंख्य मानिस घरबारविहीन भएका छन्।
क्षतिग्रस्त सडक, प्रतिकूल मौसम, स्रोतसाधन र भारी उपकरणको अभावले सबैभन्दा बढी प्रभावित क्षेत्रमा सहायता परिचालनमा विलम्ब भएको सुरक्षा अधिकारीहरूले स्वीकार गरेका छन्।
उनीहरूले उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गर्दै यथाशक्य पीडितहरूमाझ पुग्ने प्रतिबद्धता जनाएका छन्। कतिपय क्षेत्रमा इन्धन र बिजुली नहुँदा जीवन अकल्पनीय कष्टकर भएको छ।
मानवीय सहायता अधिकारीहरूले करिब १२ वर्षको गृहयुद्धपछि मानवीय संकटबाट पीडित सिरियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूले बालबालिका र महिला अधिक प्रभावित भएका बताएका छन्।
अन्तर्राष्ट्रिय समुदायले प्रदान गरेका सहायता सामग्री टर्की पुग्न थालेका छन्। टर्कीलाई अहिले नगदको आवश्यकता परेको अन्तर्राष्ट्रिय सहायता निकायले बताएका छन्। अमेरिकी खोज तथा उद्धार टोली आज टर्की आउने भएको छ।
युरोपेली संघ, संघमा आबद्ध १३ देशले राहत सामग्रीसहितको उद्धार टोली परिचालन गरेका छन्। मंगलबार टर्की र सिरियाका भूकम्पपीडितका लागि चीन, भारत, जापान, फिलिपिन्स, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत मुलुकले आर्थिक एवं भौतिक सहयोगको घोषणा गरेका थिए।यो खवर naya partika मा छ ।