म राजनीतिमा ‘पैँसा कमाउनका लागि आएको होइन’ – गाउँपालिका अध्यक्षका उम्मेदवार यादव !

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : १८ बैशाख विहान ११ बजे एमालेको तर्फबाट जानकी गाउँपालिका अध्यक्षका उम्मेदवार हिमांशु यादवको टोली जानकी गाउँपालिका ५ मा पुग्दा गर्मीले उग्ररुप लिइसकेको थियो ।

टन्टलापुर गर्मीमा हिमांशु घर–घरमा पुगेर आफ्नो दलका उम्मेदवारका लागि भोट माग्दै थिए । उनी त्यहाँ पुगेपछि गर्मीले हायल कायल परेका सर्वसाधारण घर बाहिर निस्केर उनको प्रचारमा सहभागी भए ।

उक्त गाउँको कुनै घर नछुटाएका उनले मान्यजनलाई आफ्नो परम्परा र संस्कार अनुसार ढोकभेट गरे । उनको प्रचार राजनीतिक दलले गर्ने शैलीभन्दा एकदमै फरक थियो ।

उनी आफूभन्दा ठूलाको खुट्टामा ‘पाइँ’ लागे र मान्यजनले उनलाई ‘जुगजुग जिओ बेटा, हमारा भोट तुमका पक्का’ भनेर आशिर्वाद दिए । हिमांशु मान्यजनलाई ‘पाइँ लागी’ भन्दै खुट्टा छुँदै एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार भएको जानकारी मात्र गराउँथे ।

उनका सहयोगी नेता, कार्यकर्ताहरु चुनाव चिन्ह देखाउँदै भोट हाल्ने तरिका सिकाउँथे । हिमांशुको भोट माग्ने र प्रचार गर्ने शैली एकदमै फरक पाएँ । उहाँको प्रचार शैलीबाट म पनि प्रभावित भएँ,’ लामो समयदेखि पत्रकारिता गर्दै आएका कमल न्यौपानेले भने, ‘उहाँले गरेको सम्मान र मायाले मतदाता खुसी भएको देखेँ ।’


ब्यापारिक पृष्ठभूमीका उनी पहिलो पटक राजनीतिमा आएका छन् । तर, उनीसँग राजनीतिक संस्कार छ । आफूभन्दा ठूलालाई गर्ने संस्कृति छ । हिमांशुका बुवा रामनिवास यादव जानकी गाउँपालिकाका अध्यक्ष हुन् । उनको करिव ६ महिना अघि निधन भएको हो ।

बुवाको विरासत थाम्नका लागि राजनीतिमा नआएको उनी बताउँछन् । उनले बुवाले थालेका अधुरा योजना पूरा गर्न र जानकीलाई समृद्ध बनाउन अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनीसँग अहिले पनि थुप्रै जमिन र सम्पत्ती छ । ‘मेरो पुख्र्यौली सम्पत्ती प्रशस्त छ ।

पैँसा कमाउनका लागि म राजनीतिमा आएको होइन, जानकी गाउँपालिका समृद्ध भएको हेर्ने चाहना भएकोलेमात्र अध्यक्षको उम्मेदवार बनेको हुँ,’ उनले भने, ‘विरासत जोगाउन राजनीतिमा आएको भन्ने आरोपमा कुनै सत्यता छैन ।’


उनी बाँके जिल्लाका अध्यक्ष मध्येका सवैभन्दा कान्छा उम्मेदवार हुन् । आफ्नो गाउँपालिकाका बालबालिकालाई शिक्षित बनाएर रोजगारीको ढोका खोल्ने उनको प्रवल इच्छा छ । ‘शिक्षा बिना गाउँपालिका र गाउँको विकास सम्भव छैन । मेरो पहिलो काम गाउँपालिकाभित्रका बालबालिकालाई शिक्षा दिने हुने छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *