पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद

उज्यालो खबर मुख्य खबर

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद तोकिएको छ। दैलेख जिल्ला अदालतले थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्ये ‘अरुण’ भन्ने बमबहादुर खड्कासहित तीन जनालाई जन्मकैदको फैसला गरेको हो।

न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार पत्रकार थापाको हत्यामा संलग्नहरूलाई जन्मकैदको फैसला सुनाएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार ईन्द्रबहादुर कार्कीले जानकारी दिए।

इजलासबाट दुल्लु नगरपालिका-६ छिउडी पुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्का, भगवतीमाई गाउँपालिका-६ का ‘मुक्ति’ भन्ने बमबहादुर खड्का र दुल्लु नगरपालिका-६ कै केशव खड्कालाई जनही २० वर्ष जन्मकैदको फैसला भएको श्रेस्तेदार कार्कीले जानकारी दिए।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बाँकेको कोहलपुर नगरपालिका-३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला गरिएको छ।

माओवादी सशस्त्र द्वन्द्वको समयमा पत्रकार थापाको हत्या भएको थियो। २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरूले मरणासन्न हुनेगरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए। दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई मुहान मर्मतका लागि जाने बेला २०६१ असार १२ गते माओवादीले अपहरण गरेका थिए।

अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *