एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डमाथि खनिए , कांग्रेसलाई पनि दनक !

उज्यालो खबर मुख्य खबर

काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डै २ घण्टा बोले । यसक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो प्रचण्ड रुप देखाए । प्रचण्ड सरकारप्रति आक्रोश, आलोचना र चुनौतिको प्याकेज जस्तै सुनिन्थ्यो केपी ओलीको भाषण । सामाजिक सञ्जालतिर त टिप्पणी भइरहेको छ कि ओलीले आगो नै ओकले । आखिर किन यति विघ्न चर्चा भइरहेको छ केपीको भाषणको ? सरकारविरुद्ध २ घण्टामा कति र केसम्म आलोचना गरे केपीले ?

सरकारले आगामी आर्थिक वर्षकालागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु भयो । यस छलफलमा भाग लिने पहिलो व्यक्ति थिए, एमाले संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली । उनले नीति तथा कार्यक्रममाथि छलफलमा झण्डै २ घण्टा बोले । उनको दुई घण्टा भन्दा बढीको भाषण प्रधानमन्त्री प्रचण्डमाथि आक्रोश र आलोचनामै बित्यो ।

उनले सरकारको नीति तथा कार्यक्रमलाई त यथार्थहीन भएको टिप्पणी गरे । नीति माथि मात्रै होइन उनी सरकारमाथि पनि खनिए । उनले भने वर्तमान गठबन्धन सरकार दुःखको कारक हो । उनले नीति तथा कार्यक्रममा उच्च आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नै नभएको, आधुनिक पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढाउने उत्साह नै नभएको टिप्पणी समेत गरे । उनले भनेका छन्, सरकारले मुलुकको वास्तविकता लुकाउन खोजेको छ । उनले कटाक्ष गरे- रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ ।

ओलीले जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको दाबी समेत गरे । उनले जनतामा निराशा बढेको, सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वभाविक गतिविधिहरु बढ्दो अवस्थामा रहेको भन्दै सरकारको आलोचना गरे । उनले भनेका छन्, मुलुकको अर्थतन्त्र डिलमा पुग्नुको कारण नै अहिलेको नेकपा माओवादी केन्द्र र कांग्रेससहितको गठबन्धन सरकार हो । उनले गठबन्धन सरकारले नेपालको आर्थिक विकासलाई नागपासाको ९९ बाट २ मा झारेजस्तो गरेको आरोप समेत लगाए ।

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्न योग्य नभएकाले कांग्रेसलाई समेत आफ्नो प्रस्तावमा समर्थन गर्न आग्रह गरे । यसक्रममा प्रचण्डलाई मात्रै होइन कांग्रेलाई समेत घोक्र्याए ओलीले । कांग्रेसको देशप्रतिको प्रतिबद्धता यही हो भन्दै उनी जङगिए । समग्रमा केपी ओलीले सांसदमा प्रचण्ड र वर्तमान गठबन्धन प्रतिको कुण्ठा मात्रै प्रस्फुटन गरेको र नीतिमा आवश्यक सुझावमा कुनै ध्यान नदिएको टिप्पणी शुरु भएका छन् ।

news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *