महाधिवेशन लगत्तै चुनावमा केन्द्रित हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन

उज्यालो खबर मुख्य खबर

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनाव तर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् ।

उनले पार्टीभित्रको आन्तरिक चुनावमा हारजित हुनु स्वाभाविक भन्दै यो विषयमा धेरै नअलमलिन आग्रह गरेका छन् ।

‘हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्ष भित्र संघ र प्रदेशको निर्वाचनमा जादैछौँ । त्यसैले पनि अधिवेशन लगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जित, हार एउटा स्वाभाविक प्रक्रिया हो । लोकतान्त्रिक अभ्यास हो ।’ उनले भने, ‘त्यसैले तपाईंहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।’

प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे ।

उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *