७ चैत, विराटनगर । खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् ।
२६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी थिइन् । तर उनी जसको सेवा गर्छु र जसलाई शान्ति सुरक्षा दिन्छु भनेर प्रहरी बनेकी थिइन्, उनीहरुकै आवेगबाट मारिइन् । घर परिवार आफन्त र साथीसंगीका आँखा चिसो बनाउँदै उनी सदाका लागि अस्ताइन् । प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत श्रेष्ठ मोरङको लेटाङ–५ मा भएको झडपमा परेर मारिइन् ।
होली खेल्ने क्रममा गत शुक्रबार एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई प्रहरीमा बुझाउने तयारी थियो । विद्यालयमा शिक्षक र गाउँलेबिचको छलफलपछि आरोपितलाई त्यत्तिकै बाहिर निकाल्दा भीडले आक्रमण गर्ने डर थियो । प्रहरीमा बुझाएपछि पौडेललाई कुनै कारबाही नहुने भन्दै एउटा समूह आफैंले कारबाही गर्ने भन्दै ‘अराजक’ बनेको थियो । अर्को पक्ष पौडेललाई जोगाउन लागि परेको थियो । दुई पक्षका कारण लेटाङमा तनाव बढ्दो थियो ।
त्यही तनाव नियन्त्रण गर्न, आरोपित शिक्षकलाई पक्रन र स्थानीयबासिन्दाको सुरक्षा गर्ने जिम्मेवारी पूरा गर्न उर्मिला लेटाङ पुगेकी थिइन् । तर त्यो भीडमा कसैले उनीमाथि चक्कु हान्यो, त्यो पनि घाँटीमा ।
यो खवर आजको अनलाइनखवर मा छ ।