काठमाडौं : कैलालीको लम्कीका सूर्यबहादुर थापा सानै उमेरदेखि उद्योगी बन्न चाहन्थे । तर उद्योगी बन्नका लागि उनको आर्थिक अवस्था मजबुत थिएन । निम्न पारिवारिक वातावरणमा हुर्किएका थापाको उद्योगी बन्ने चाहना भने बढ्दै गैरहेको थियो । जब उनी २०४३ सालमा १९ वर्षका थिए उद्योगी बन्ने यात्राको थालनी गर्ने हिम्मत जुटाए । हिम्मत जुटाएर मात्रै के गर्नु लगानी थिएन ।
उनलाई थाहा थियो यो बेला सुरु गरेन भने चाहना पूरा गर्न सकिँदैन । उनले १२ हजार रुपैयाँमा आमाको घाँटीमा रहेको चाँदीको माला बेचे । सो रकमले कैलालीको चिसापानीमा किराना पसल थापे । सानै उमेरदेखि मेहेनती उनको किराना पसल खुब फस्टायो । उनले चिसापानी मै होटल खोले । तत्कालीन माओवादी द्वन्द्वका क्रममा होटलमा क्षति पुग्यो । उनी चिसापानी छोडेर लम्की पुगे ।
उनले लम्कीमा व्यवसाय सुरु गरे । व्यवसायका क्रममा केही रकम जुटाई सकेका थिए । उनको मनमा उद्योग खोल्ने योजना बन्यो । उनले २० वर्षअघि लम्कीमा डल्फिन खाद्य उद्योग खोले । त्यहाँ चामल उत्पादन हुन थाल्यो । उद्योगले बिस्तारै गति लियो । केही ठाउँमा भाडामा समेत उद्योग सञ्चालन गरे । उनले चामल उद्योग भएकै ठाउँमा १२ वर्षअघि अर्को उद्योग सुरु गरे । त्यो थियो डल्फिन दाना उद्योग ।
त्यहाँ कुखुराको दाना उत्पादन हुन थाल्यो। दाना उद्योगले उनलाई आर्थिक रुपमा माथि उकास्यो। तत्कालीन सुदूर र मध्यपश्चिमका जिल्लामा डल्फिन दाना उद्योगले निकै बजार ओगट्यो। उनी डल्फिन दाना उद्योगको सफलतासँगै उत्साहित बने। उनले उद्योग विस्तार गर्ने योजना बनाए । त्यसका लागि लम्कीमा रहेको ठाउँ साँघुरो भयो । कैलालीका विभिन्न ठाउँमा जग्गा खोजे तर पाएनन् । प्रस्तावित डुँडेझारी औद्योगिक क्षेत्र स्थापनाको बाटो कुरे ।
उनी आफै पनि औद्योगिक क्षेत्र स्थापनाका लागि निकै दौडिए। तर औद्योगिक क्षेत्र स्थापनाको टुङ्गो लागेन । समय घर्किदै गएपछि उनी कुरेर बस्न सकेनन्। उनले यतिबेला बाँकेको कोहलपुर नगरपालिका–७ मा आफ्नो उद्योग विस्तार गरेका छन् । करिव २५० करोडको लागतमा उद्योग स्थापना भैरहेको छ । त्यहाँ कुखुरा र गाईवस्तुको दाना, चामल र मैदा उत्पादन हुनेछ । उनका अनुसार यो दाना उद्योग नेपालकै सबैभन्दा ठूलो हुनेछ । आजको नागरिक दैनिकमा खबर छ ।