न्यायाधीकरणले गरे एकैपटक ५३ म्यानपावर सञ्चालकलाई कैद र जरिवानाको फैसला

उज्यालो खबर मुख्य खबर

वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ३५ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एक/एक लाख रूपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो। 

न्यायाधीकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाँको संयुक्त इजलासले यही १६ गते ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको हो। 

खाडी तथा मलेसिया जाने श्रमिकहरूको भिसा तथा श्रम स्वीकृतिका लागि प्रदान गरिने स्टिकर लगायत कागजात नक्कली बनाएर ठगी गरेको न्यायाधीकरणले ठहर गरेको न्यायाधीकरणका इजलास अधिकृत दुर्गादत्त लम्सालले जानकारी दिए। 

इजलास अधिकृत लम्सालका अनुसार ती म्यानपावर कम्पनीहरूले ललितपुर, पुल्चोकस्थित नेपाल निक प्रिन्टिङ प्रेसमार्फत नक्कली कागजात बनाएर कामदारलाई वैदेशिक रोजगारमा पठाउने गरेको खुलेको हो। उक्त प्रेसले एक व्यक्ति बराबर पाँच सयदेखि सात हजार रूपैयाँसम्म रकम लिएर नक्कली कागजात बनाइ दिने गरेको खुलेको हो।

 २०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यसमाथि अनुसन्धान सुरू भएको थियो। अख्तियारमा वैदेशिक रोजगार विभागका कर्मचारीहरू मिलोमतोमा म्यानपावरहरूले ठगी गरेको हुँदा अनुसन्धान गरिपाऊँ भन्दै उजुरी परेको थियो। 

सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढायो। अनुसन्धानका क्रममा अख्तियारले २०७१ असारमा नेपाल निक प्रेसमा खानतलासी गर्‍यो। प्रेसमा २०७१ असार २७ गते छापा मारेको थियो। सो क्रममा प्रेसले विभिन्न व्यक्तिहरूको कागजात नक्कली बनाएको पाइयो। अख्तियारले प्रेसबाट आवश्यक कागजात बरामद गर्‍यो। यसमा थप अनुसन्धान अघि बढाउँदै लगियो। 

त्यसपछि प्रेसले विवरण सच्याउने तथा नक्कली कागजात बनाउने गरेको पुष्टि भएकाले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४७ मा कसुर गरेको देखियो। यस्तो देखिएपछि अख्तियारले २०७२ साल असार ११ गते निर्णयसहितको फाइल वैदेशिक रोजगार विभागमा पठाएको थियो। 

त्यसपछि बाँकी अनुसन्धान प्रक्रिया विभागले अघि बढाएको थियो। प्रतिवादीको बयान गराउने, साक्षी बुझ्नेलगायत काम विभागले विभिन्न चरणमा गर्‍यो।

त्यसपछि सरकारी वकिलको कार्यालयले २०७३ साल साउन १९ गते प्रतिवादीउपर मुद्दा चलाउने निर्णय गरेको थियो। यो मुद्दा २०७३ भदौमा न्यायाधीकरणमा दर्ता भएको थियो। त्यसपछि थुनछेक आदेश भयो। बीचमा प्रमाण बुझ्ने, प्रतिवादीको बयान गराउने, फरार प्रतिवादीलाई म्याद जारी गर्ने, सुनुवाइ, साक्षी बुझ्ने लगायत काम भए।

यो मुद्दामा पछिल्लो आदेश २०७५ भदौ १९ गते भयो। यो आदेशपछि मुद्दा मूलतबीमा गयो। त्यति बेला श्रम स्वीकृति दिने विभागका कर्मचारीविरूद्ध भ्रष्टाचारको अभियोग लगाउँदै मुद्दा विशेष अदालतमा पनि दायर भएको थियो। 

मुद्दा विशेष हुँदै सर्वोच्च अदालतमा पुग्यो। सर्वोच्चले कर्मचारीलाई सफाइ दिई म्यानपावर कम्पनीका हकमा न्यायाधीकरणले फैसला गर्नुपर्ने निर्णय गरेको थियो। त्यसपछि बाँकी प्रक्रिया न्यायाधीकरणमार्फत अघि बढेको हो। 

सर्वोच्चबाट भ्रष्टाचार मुद्दाको अन्तिम फैसलाको प्रतिलिपि प्राप्त भएपछि यो मुद्दा २०७७ साल फागुन २१ मा मूलतबीबाट जागेको हो। सबै एउटै प्रकृतिको मुद्दा भएकाले ५३ थान मुद्दाका प्रतिवादीमाथि एकैपटक जनाउ म्याद जारी भयो। त्यसपछि प्रक्रिया अगाडि बढेको हो। 

इजलास अधिकृत लम्सालका अनुसार २०७८ पुस २५ देखि यो मुद्दा हेर्दाहेर्दैमा गयो। आठ दिन इजलासमा यो मुद्दा हेर्दाहेर्दै रहेको थियो। त्यसपछि यही फागुन १६ गते इजलासले ५३ म्यानपावर सञ्चालकमाथि एक लाख जरिवाना र ६ महिना कैदको फैसला गरेको हो।

अवैध धन्दामा संलग्न प्रेसका सञ्चालक शेरबहादुर महर्जन र उत्तम खत्री ५३ वटै म्यानपावर कम्पनीहरूको मतियार देखिएकाले निजलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ५३ को मतियार कसुर ठहर गरिएको छ। न्यायाधीकरण वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालत हो। वैदेशिक रोजगारको क्षेत्रमा एकै पटक यति धेरै म्यानपावर कम्पनीमाथि सजाय दिने फैसला यसअघि भएको थिएन। 

यी हुन सजाय सुनाइएका ५३ म्यानपावर कम्पनी र सञ्चालकः

  • मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ  
  • अल द्यार म्यानेजमेन्ट प्रालिका सञ्चालक जेवेर अहमद खाँ
  • लिबर्टी एसआरका सञ्चालक दण्डप्रसाद काप्री
  • फ्युचर लिंक इन्टरनेसनलका सञ्चालक सलामुद्दिन मियाँ
  • गल्फ म्यानेजमेन्टका सञ्चालक उपेन्द्रप्रसाद शाह
  • ओरोर ह्युमन रिसोर्सका सञ्चालक राजेन्द्र भण्डारी 
  • आरके म्यानपावर ग्रुपका सञ्चालक शितलप्रसाद यादव
  • एबिसी फ्लेसमेन्ट प्रालिका सञ्चालक मनोजकुमार गौतम
  • सनलाइट ह्युमन रिसोर्सका सञ्चालक चित्रबहादुर विशुन्खे
  • सन्ना इन्टरनेसनल रिक्रुटमेन्टका सञ्चालक मोहम्मद मुस्ताफ मियाँ
  • इम्पायर इन्टरनेशनलका सञ्चालक मोदनाथ शर्मा
  • मोभिरा इन्टरनेसनल ओभरसिज सर्भिस प्रालिका सञ्चालक मोदनाथ शर्मा
  • वर्ल्ड भिजन इन्टरनेसनलका सञ्चालक बुद्धिबहादुर रोक्का
  • विन्डबोन्ड ओभरसिजका सञ्चालक मोहनकर्ण राना
  • ड्रिम एन्ड गाइड सिस्टमका सञ्चालक साहिद फजुल रहमान
  • स्प्लेन्डिड जब सोलुसनका सञ्चालक गोपाल उराँव
  • गल्फ इन्टरनेसनल ग्रुप नेपालका सञ्चालक जयराम अधिकारी 
  • लक्की एचआर सोलुसनका सञ्चालक ऋषिप्रसाद शर्मा
  • एसपिएम ओभरसिजका सञ्चालक क्षितिज ढुंगाना
  • एनबी इन्टरनेसनल म्यानपावरका सञ्चालक रामराज अधिकारी
  • अन्जली ओभसिजका सञ्चालक टिका शिवाकोटी
  • साउदी नेपाल रिक्रुटमेन्ट एजेन्सीका सञ्चालक देवीकला आचार्य
  • मिराकल ओभरसिज प्रालिका सञ्चालक ज्ञानेन्द्र अधिकारी
  • एसिइ इम्प्लोइमेन्टका सञ्चालक तुलसीप्रसाद काप्री
  • ट्र्याक ओम ओभरसिजका सञ्चालक सुनितकुमार सिंह 
  • गतिशील ओभरसिजका सञ्चालक रामकुमार लामा
  • अल मसिर ओभरसिजका सञ्चालक दिलकुमार तामाङ 
  • स्वस्तिल ओभरसिजका सञ्चालक भीष्म सापकोटा
  • मसरेग इन्टरनेसनल ओभरसिजका सञ्चालक खेमनाथ गौतम
  • परदेशी ओभरसिजका सञ्चालक युवराज शेर्मा
  • जिएस इम्प्लोइमेन्ट सर्भिसका सञ्चालक चक्रबहादुर बलमपाकी
  • मादी ओभरसिजका सञ्चालक जनक थापा
  • सिटिजन ओभरसिजका सञ्चालक वीरबहादुर तामाङ
  • स्टारवे ओभरसिजका सञ्चालक भागिरथ राई
  • योङ ओभरसिजका सञ्चालक थिरमणि पौडेल
  • सार्क ओभरसिजका सञ्चालक इन्द्रबहादुर खड्का
  • जब सर्चका सञ्चालक सुरेश शर्मा ढकाल
  • सिप्नल इन्टरनेसनलका सञ्चालक दिलिपकुमार भण्डारी
  • शल्मनी ओभरसिजका सञ्चालक रामचन्द्र गिरी
  • कालिन्चोक म्यानपावरका सञ्चालक प्रदीपकुमार कार्की
  • उपटार एचआर प्रालिका सञ्चालक श्यामबहादुर पराजुली
  • डिलक्स एचआरका सञ्चालक जनक खड्का
  • लक्की ओभरसिजका सञ्चालक यमबहादुर केसी
  • एमकन ओभरसिजका सञ्चालक रामप्रसाद गैरे
  • नाइल इन्टरनेसनल प्रालिका सञ्चालक गंगा तामाङ
  • युरो टेक कन्सल्टेन्टका सञ्चालक नारायण खड्का
  • दीप गेट वे ओभरसिजका सञ्चालक विकास जंग रायमाझी
  • रारा इम्प्लोइमेन्ट कन्सल्टेन्टका सञ्चालक गोपाल प्रसाद पाण्डे 
  • रिजन ओभरसिजका सञ्चालक राजन सापकोटा
  • बेस्ट वे सर्भिसका सञ्चालक पुष्पबहादुर आले
  • परफेक्ट कनेक्सन इम्प्लोइमेन्टका सञ्चालक डिल्लीप्रसाद लामिछाने
  • ग्रान्ड ओभरसिजका सञ्चालक राज किशोर शाह
  • आस्था इन्टरनेसनल ओभरसिजका सञ्चालक रवीन्द्र केसी

साभार सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *