सुर्खेतमा पूर्वराजा ज्ञानेन्द्र शाहले भने : दुई दशकमा अपनाएको शासन पद्धति सही र सार्थक भएन !

उज्यालो खबर मुख्य खबर

१३ जेठ, सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा कुरा धेरै काम थोरै भइरहेको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित नागरिक अभिनन्दनमा उनले पछिल्लो दुई दशकमा अपनाएको शासन पद्धति सही र सार्थक नभएको बताए ।

‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ?,’ शाहले भने, ‘हामी जहाँ जहाँ जान्छौ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौं, त्यसबाट थाहा पाउँछौं, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो ।

पूर्वराजा शाहले शासन प्रणालीलाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता र समाजको सर्वोत्तम सेवा र सम्मान नै प्रमुख रहेको बताए । ‘लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो’ उनले भने, ‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर गरिने सुशासन र विकास नै हो ।’

जनताले सोचेको र खोजेको जस्तो नहुँदा त्यस्तो पद्धति केही समयका लागि बिकाऊ मात्र हुने तर टिकाउ नहुने शाहले बताए । ‘जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको बिकाऊ मात्र हुन्छ, टिकाउको हुँदैन’ उनले भने ।

पूर्वराजा शाहले देशको स्वभिमान बचाउन एक हुनुको विकल्प नरहेको भन्दै के गर्दा देशको हित हुन्छ त्यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेम चाहिन्छ । नेपालको पीर मर्का बुझ्न नेपाली मुटुले मात्र सक्छ’ पूर्वराजा शाहले भने, ‘अब सोचौं के गर्दा फाइदा हुन्छ, के नगर्दा देशलाई फाइदा हुन्छ ?’

घण्टाघर अगाडि गरिएको कार्यक्रममा पूर्व राजा रानीलाई दैलेख पञ्चकोशीको जलपान गराएर नागरिक अभिनन्दन गरिएको थियो । नागरिक अभिनन्दनका लागि १००८ सदस्यीय समिति र २० सदस्यीय उपसमिति गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *