२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

मङ्गलबार, २६ फागुन २०८२ / रुकुम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । एक किशोरी भने बेपत्ता रहेको बताईएको छ ।

आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । करिब पाँच सय मिटर फरक दुरीमा दुई शव फेला परेको बताईएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार शवको पहिचान समेत भएको छ । शवहरु बाँफिकोट गाउँपालिका ३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मीला ओलीको रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । भेरी नदि किनारमा तैरिएको अवस्थामा शव फेला परेका हुन् ।

उहाँका अनुसार सोमबार बेलुका तीन जना किशोरीहरु छिमेकी गाउँको विवाहमा जान भनेर गएका थिए । उनीहरुको साथमा गएकी १३ वर्षीया सपना ओलीको भने अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक पुनले जनाउनुभयो ।

विवाहबाट फर्कदै गर्दा भेरी नदिले बगाएको हुन सक्ने आशंक गरिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ । यस अघि अस्थायी प्रहरी पोष्ट छिनखेतबाट पनि प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

घटनाको थप विवरण आउन बाँकि रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

२६ फागुन २०८२, मंगलबार/ काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिने भन्दा पनि जिम्मेवारी पूरा गर्ने समय आएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत नेता भण्डारीले पार्टीका महामन्त्री गगन थापालाई नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त र जिम्मेवार बाटो भएको उल्लेख गरे।

उनले लेखेका छन्, “राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो। त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।”

उनका अनुसार यो अवस्थामा कांग्रेस बचाउनु आफैँमा नैतिक दायित्व हो। युवाहरूले कांग्रेस छोड्दै गएको समयमा पार्टीलाई औषधिु खुवाएर बचाउनुपर्ने भन्दै उनले यस्तो बेला मैदान छाडेर हिँड्न नहुने तर्क गरे।

“नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ,”भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्।

२६ फागुन २०८२, मंगलबार /काठमाडौँ । काठमाडौँ उपत्यकाको वायू प्रदूषण अझै उच्च बनेको छ । विगत केही दिनका तुलनामा प्रदूषण झनै बढेको हो । फागुन २२ गतेदेखि उपत्यकामा घाम लागिरहेको थिएन । हावा पनि लागेको छैन । चुनावका कारण केही दिन सवारी पातलो भए पनि अहिले फेरि त्यही सवारीको प्रदूषणसमेत थपिएको छ ।

वातावरण विभागका अनुसार केही दिनमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा मसिना कणहरु बढेको जनाइएको छ ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई)अनुसार काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क निकै खराब रहेको छ । मंगलबार बिहान एक्यूआई २०१ भएको छ । सोमबार २०० रहेको थियो ।

यससँगै काठमाडौँ सोमबार र मंगलबार विश्वको दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । पहिलो स्थानमा मंगलबार बिहान भारतको दिल्ली रहेको छ ।

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् ।

उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौला लगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरे ।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले दीर्घरोगी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कनसमेत अनुरोध गरेका छन् ।

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन आग्रह गरेको छ । पुराना गाडीले वायु प्रदूपण बढाउने, वनमा डढेलो, उद्योगधन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धुलोधुवाँका कारणले प्रदूषण बढेको उनको भनाइ छ ।

अझै एक हप्ता काठमाडौँमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणको कारण काठमाडौँ उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन ।

प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै वातावरणविद् भूषण तुलाधरले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे ।

एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ ।

त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभागका महानिर्देशक सुवेदीले आग्रह गरे ।

उनका अनुसार १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

यता चिकित्सकहरुले पछिल्लो समय आँखा र नाक चिलाउने समस्या लिएर अस्पताल आउनेको संख्या बढ्न थालेको बताएका छन् ।

चिकित्सकहरुले बाहिर सकभर ननिस्कने र निस्कनै परे मास्क तथा चस्माको प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।

काठमाडौँ उपत्यकामा गत असोजपछि पानी पर्नै सकेको छैन । क्षणिक वर्षा फाटफुट स्थानमा परे पनि त्यो फलदायी हुन सकेको छैन । आइतबार राति पनि फाटफुट वर्षा भएको थियो ।

२६ फागुन २०८२, मंगलबार /बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )ले सबैभन्दा बढी २३ हजार ७३६ मत ल्याएको छ । रास्वपा प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ ल्याएर विजयी भएका थिए ।

यस्तै नेकपा एमालेले १६ हजार ४९ मत ल्याएको छ । एमालेले समानुपातिकतर्फ भने प्रत्यक्षभन्दा कम मत ल्याएको छ । प्रत्यक्षतर्फ एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए ।

समानुपातिकतर्फ नेपाली कांग्रेस तेस्रो भएको छ । कांग्रेसले १५ हजार ९०७ मत ल्याएको छ । प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत ल्याएका थिए ।

समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टी ( नेकपा )ले ६ हजार ३३५ मत ल्याएको छ । नेकपाले पनि प्रत्यक्षको भन्दा समानुपातिकतर्फ कम मत ल्याएको छ । प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा )ले समानुपातिकतर्फ ३ हजार ४७१ मत ल्याएको छ । राप्रपाले प्रत्यक्षको भन्दा समानुपातिकतर्फ बढी मत ल्याएको छ । प्रत्यक्षतर्फ राप्रपा उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका थिए ।

बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएका छन् । समानुपातिकतर्फ ६८ हजार १८२ मत सदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।