बाँके क्षेत्र नं. २ मा कमरुद्दिन राई जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।
उनले आफूलाई मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अल्पसंख्यक समुदायहरूको अधिकारका लागि आवाज उठाउने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिएका हुन्।

राईले आफ्नो उम्मेदवारी सत्तामा पुग्ने आकांक्षाभन्दा पनि अधिकार स्थापनाको उद्देश्यले प्रेरित भएको बताएका छन्। उनका अनुसार मधेसी र मुस्लिम समुदाय अझै पनि राजनीतिक तथा सामाजिक रूपमा पूर्ण प्रतिनिधित्व र समान अवसरबाट वञ्चित छन्। “मेरो उम्मेदवारी केवल सत्तामा पुग्ने आकांक्षा होइन, मधेसी तथा मुस्लिम समुदायको अधिकार स्थापित गर्ने उद्देश्य हो,” उनले भनेका छन्। उनले विगतदेखि नै यी समुदायको हकहितका लागि संघर्ष गर्दै आएको दाबी गरेका छन्।
उनले “पहिचानको लडाइँ अझै जारी छ” भन्दै मधेसी र मुस्लिम जनताको नाममा राजनीति गर्ने तर व्यवहारमा काम नगर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। पहिचान र अधिकारका मुद्दासँगै राईले विकासका योजनाहरू पनि अघि सारेका छन्।
उनका अनुसार बाँके जिल्लाको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज तथा ग्रामीण क्षेत्र डुडुवा को विकासलाई प्राथमिकता दिइनेछ। उनले नेपालगन्जमा आधारभूत पूर्वाधार सुधार, व्यापार–व्यवसाय प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा डुडुवामा सडक, सिंचाइ र कृषि विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
हाल राई नेपालगन्ज र डुडुवा क्षेत्रमा घरदैलो तथा भेटघाट अभियानमा सक्रिय रहेका छन्।









