
बाँके फागुन १७ गते ।
विभिन्न राजनीतिक दल परित्याग गरी साढे तीन सयभन्दा बढी जेनजी युवाहरु जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)मा प्रवेश गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका–५ मा आयोजित एक कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरिएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवारी दिएका कमरुद्दिन राईलाई समर्थन जनाउँदै युवाहरु जसपामा आबद्ध भएका हुन्। जसपाका बुथ कमिटी अध्यक्ष अब्दुल अजीज हल्वाईको नेतृत्वमा आयोजित कार्यक्रममा राईले नवप्रवेशी युवाहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराए।कार्यक्रमलाई सम्बोधन गर्दै राईले पछिल्लो समय युवाहरुको आकर्षण जसपातर्फ बढ्दै गएको दाबी गरे। उनले नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखको जिम्मेवारी सम्हाल्दा विभिन्न कारणले अपेक्षित विकास गर्न नसकिएको उल्लेख गरे। साथै, जेनजी आन्दोलनका कारण उपमहानगरपालिका थप क्षतिग्रस्त बन्न पुगेको पनि उनले बताए।राईले आफ्नो उम्मेदवारी कुनै हालतमा पछि नहट्ने स्पष्ट पार्दै आफ्नो पक्षमा बढ्दो जनसमर्थनका कारण प्रमुख प्रतिस्पर्धी दलहरु आतिएको टिप्पणी गरे। उनले संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढीकरणमा जसपाको पनि महत्वपूर्ण दायित्व रहेको बताए। जसपा संघीयता वा धर्म विरोधी नभएको स्पष्ट पार्दै उनले समावेशीता र पहिचानको मुद्दा सुनिश्चित नभएसम्म मधेसी तथा मुस्लिम समुदायको समुन्नति सम्भव नहुने धारणा व्यक्त गरे।उनले मधेसी तथा मुस्लिम समुदायमाथि भएको विभेदका कारण युवाहरुले रोजगारीका अवसरबाट वञ्चित भई विदेशिनु परेको टिप्पणी गरे। “रोजगारी मात्रैले पहिचान स्थापित हुँदैन, अधिकारसहितको पहिचान आवश्यक छ,” उनले भने।
कार्यक्रममा युवा नेतृ अम्बिका काफ्लेले देशको नेतृत्व अब युवाहरुले नै गर्ने समय आएको बताइन्। उनले मधेसी, मुस्लिम, दलित तथा महिलाको अधिकार र पहिचानको सुनिश्चितता जसपाले मात्र दिलाउन सक्ने दाबी गरिन्। अधिकारसहितको पहिचान चाहने युवाहरुलाई ‘छाता’ चुनाव चिन्हमा मत हाल्न उनले आग्रह गरिन्। साथै, आगामी दिनमा नेपालगन्जमा क्रिकेट एकेडेमी स्थापना गर्न पहल गरिने विश्वास पनि व्यक्त गरिन्। पार्टी प्रवेश कार्यक्रमपछि युवाहरुले कमरुद्दिन राईको पक्षमा नाराबाजी गरेका थिए।
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा ‘शून्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन् ।
उनले मौन अवधिमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने बताएका छन् ।
मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेको उम्मेदवारी नै खारेज गरिने भएको छ ।
हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव १ हजार १ सय उजुरी परेको भण्डारीले बताएका छन् । तीमध्ये धेरैको स्थानीय स्तरमै फर्स्योट भइसकेको उनले जानकारी दिएका छन् ।
आयोगले २५-३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रिय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उनले बताएका छन् । ‘यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइनेछ ।’, उनले भने, ‘एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो ।’
निर्वाचन आयोग कुनैपनि दबाबमा नपरी कानून बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उनको दाबी छ ।
बाँके क्षेत्र नं. २ मा कमरुद्दिन राई जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।
उनले आफूलाई मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अल्पसंख्यक समुदायहरूको अधिकारका लागि आवाज उठाउने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिएका हुन्।

राईले आफ्नो उम्मेदवारी सत्तामा पुग्ने आकांक्षाभन्दा पनि अधिकार स्थापनाको उद्देश्यले प्रेरित भएको बताएका छन्। उनका अनुसार मधेसी र मुस्लिम समुदाय अझै पनि राजनीतिक तथा सामाजिक रूपमा पूर्ण प्रतिनिधित्व र समान अवसरबाट वञ्चित छन्। “मेरो उम्मेदवारी केवल सत्तामा पुग्ने आकांक्षा होइन, मधेसी तथा मुस्लिम समुदायको अधिकार स्थापित गर्ने उद्देश्य हो,” उनले भनेका छन्। उनले विगतदेखि नै यी समुदायको हकहितका लागि संघर्ष गर्दै आएको दाबी गरेका छन्।
उनले “पहिचानको लडाइँ अझै जारी छ” भन्दै मधेसी र मुस्लिम जनताको नाममा राजनीति गर्ने तर व्यवहारमा काम नगर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। पहिचान र अधिकारका मुद्दासँगै राईले विकासका योजनाहरू पनि अघि सारेका छन्।
उनका अनुसार बाँके जिल्लाको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज तथा ग्रामीण क्षेत्र डुडुवा को विकासलाई प्राथमिकता दिइनेछ। उनले नेपालगन्जमा आधारभूत पूर्वाधार सुधार, व्यापार–व्यवसाय प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा डुडुवामा सडक, सिंचाइ र कृषि विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
हाल राई नेपालगन्ज र डुडुवा क्षेत्रमा घरदैलो तथा भेटघाट अभियानमा सक्रिय रहेका छन्।
नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टलाई नेपालगन्ज–१२ का मतदाताबाट प्राप्त समर्थनले उत्साहित बनाएको छ। घरदैलो अभियानअन्तर्गत आयोजित भेटघाट कार्यक्रमले स्थानीय स्तरमा उल्लेख्य चहलपहल सिर्जना गरेको सहभागीहरू बताउँछन्।
घरदैलोका क्रममा बिष्टले विकास, सुशासन र जनसरोकारका विषयमा आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। स्थानीय बासिन्दाले रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवा सुधारका अपेक्षा राखेका थिए।
जानकारहरूका अनुसार, नेपालगन्ज–१२ मा देखिएको सहभागिता र सक्रियता गाउँदेखि सहरसम्म प्रभाव पार्ने खालको छ। समर्थकहरू यसलाई ‘तारामय’ माहोलको संकेतका रूपमा व्याख्या गरिरहेका छन्।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अन्जना चौधरी, डम्बर बहादुर थापा, लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर), लुम्बिनी प्रदेश सदस्य रतन बहादुर शाही लगायत नेता–कार्यकर्ताको उपस्थिति थियो। संयुक्त रूपमा गरिएको घरदैलो र कोणसभाले संगठनात्मक एकता र सक्रियता झल्काएको छ।नेपाली कम्युनिस्ट पार्टी नेपालगन्ज–१२ का वडा सचिव आकाश बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सहभागीहरूले “भव्य र उत्साहपूर्ण” भन्दै वर्णन गरेका छन्। टोल–टोलबाट आएका स्थानीयले उम्मेदवारसँग प्रत्यक्ष संवाद गरेका थिए।
चुनाव नजिकिँदै जाँदा यस्ता कार्यक्रमहरूले प्रतिस्पर्धालाई थप रोचक बनाएका छन्। अन्ततः मतदाताको निर्णय नै निर्णायक हुने भए पनि नेपालगन्ज–१२ को आजको दृश्यले बिष्टको अभियानमा नयाँ ऊर्जा थपिएको देखाएको छ।
आइतबार, १७ फागुन २०८२ / काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ ।
आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरूप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको उल्लेख गरिएको छ ।
आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक पर्ने छैन । दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म)लाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ । त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधनले पनि निर्बाध सञ्चालन हुन सक्नेछन् ।
नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन ( परिचयपत्रमा उल्लिखित स्थानमा मात्र ), राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन र पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुन सक्नेछन् ।
यस्तै, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना भई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको स्पष्ट पारिएको छ ।
आइतबार, १७ फागुन २०८२ / तेहरान । इरानले आइतबार बिहान मध्यपूर्वमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । विभिन्न देशका राजधानी र प्रमुख सहरमा विस्फोटको आवाज सुनिएको सीएनएनका टोलीहरूले जनाएका छन् । इरानको अर्धसरकारी समाचार एजेन्सी तास्मिन न्यूज एजेन्सीका अनुसार, इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले (आईआरजीसी)ले इजरायल र मध्य पूर्वक्षेत्रका अमेरिकी अड्डामा छैटौँ चरणको मिसाइल र ड्रोन आक्रमण सञ्चालन गरेको छ ।
इरानबाट प्रहार भएका मिसाइलहरू पहिचान गरेको र रक्षात्मक प्रणाली सञ्चालनमा रहेको इजरायली सेनाले जनाएको छ । मध्य र दक्षिण इजरायलमा लगातार साइरन बजेका थिए । दुबईमा पनि बिहानभरि धेरै विस्फोटको आवाज सुनेको र आकाशमा धुवाँ देखेको बताइएको छ । दुबईको व्यावसायिक बन्दरगाह जेबेल अली पोर्टमा ड्रोन अवरोधका भग्नावशेषले आगो लागेको छ ।
कतारको दोहामा स्थानीय समय अनुसार बिहान ७ः३० बजे केही ठुलो विस्फोट सुनिएको थियो । कतारको गृह मन्त्रालयका अनुसार १६ जना घाइते भएका छन् र केही क्षेत्रहरूमा सामग्री क्षति सीमित भएको छ । बहराइनमा पनि मनामा स्थित क्राउन प्लाजा होटल नजिक धुवाँ उठेको भिडियोको सीएनएनले पुष्टि गरेको छ । बहराइनको गृह मन्त्रालयले साइरन बजाएको र बासिन्दालाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान चेतावनी दिएको छ ।
इराकको एर्बिल विमानस्थलबाट कालो धुवाँ उठेको तस्बिरहरू बाहिरिएका थिए । इराकको फार्स न्यूज एजेन्सीका अनुसार आइतबार बिहान शहरमा भारी विस्फोट सुनिएको छ । यी घटनाले क्षेत्रीय तनाव अझ बढाएको र आगामी दिनमा सुरक्षा र राजनीतिक अवस्था जटिल बन्ने संकेत गरेको छ ।
आइतबार, फागुन १७, २०८२ / काठमाडौँ । स्थानीय बजारमा आइतवार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु तीन लाख १४ हजार ९०० मा कारोबार भएको थियो ।
यसैगरी, आइतवार चाँदीको मूल्य प्रतितोला रु पाँच ९८५ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला रु पाँच हजार ७४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





