काठमाडौँ । आम निर्वाचन नजिकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आक्रामक रुपमा मैदान उत्रिएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह यतिबेला चुनावी मैदानमै खटिरहेका छन् । सभापति रवि अहिले आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवनको कार्यक्रम सकेर रुपन्देही पुगेका छन् । रविले आज एकैदिन रुपन्देहीका ५ निर्वाचन क्षेत्रका मतदाता भेटे । बिहान ८ बजेदेखि मतदाता भेटघाटको कार्यक्रम थालेका उनी साँझसम्म नै रुपन्देहीमा रहने कार्यक्रम छ । मतदाताहरुसँगको भेटमा रविले आगामी निर्वाचनमा देशले जित्नेगरीको मत प्रकट गर्न आग्रह गरिरहेका छ् । उनी पटक पटक नेता र पार्टीले जितेको भन्दै आगामी निर्वाचनमा भने रास्वपालाई भोट दिएर देशलाई जिताउन आग्रह गरिरहेका छन् ।
केही समय अस्वस्थ भएर अस्पताल बसेका रवि अब भने आक्रामक रुपमै देशव्यापी चुनावी अभियानमा दौडिएका छन् । रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् । उनले सोमबार नै सबै क्षेत्रका लागि २६ स्थानमा कार्यक्रम गरे । सोमबारको यो कार्यक्रम सकेर रवि कपिलवस्तुतर्फ लाग्ने कार्यतालिका छ ।









