खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित

अन्य उज्यालो खबर मुख्य खबर

तुलसीपुर । खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् ।

स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ । यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे ।

‘खोलाको दुईपट्टि खेत छ, ठुला–ठुला खाडल पारिएको छ’, उनले भने, ‘तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन ।’

गत वर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाएनन् । यस वर्ष पनि रोपाइँ गर्न सक्ने छाँटकाँट नरहेको उनको भनाइ छ । खोलामा अहिले पनि ठुला–ठुला खाडल पारेर उत्खनन गरिएको छ ।

त्यस्तै शान्तिनगर–२ का कुल्लुबहादुर चौधरीले पनि यस्तै समस्यामा छन्। खेतमा पानी नजाँदा उनको खेत पनि बाँझै रहने गरेको छ । त्यस क्षेत्रमा करिब एक सय बिघा खेत छ । वर्षात्मा आकाशे पानीको भरमा रोपाइँ हुने गर्छ भने हिउँदमा जग्गा बाँझै राख्नुपर्ने अवस्था छ ।

त्यो खोलामा व्यवस्थित अनुगमन नहुँदा मापदण्डभन्दा बढी उत्खनन हुने गरेको छ । जसले गर्दा किसान मारमा पर्ने गरेका छन् ।

खोलामा हुने उत्खनन कार्यको जिल्ला समन्वय समितिले अनुगमन गर्ने गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *