काठमाडौं । सन्दीप लामिछानेले क्रिकेट खेल्न विदेश जान दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
लामिछानेले बिहीवार खेल खेल्नका लागि विदेश जान पाऊँ भन्दै सर्वोच्चमा अनुमति मागेको थिए तर, शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उनको त्यो अनुमति अस्वीकार गरेको हो ।
न्यायाधीश खतिवडाको आदेशसँगै सन्दीप आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजमा भाग लिन बञ्चित भएका छन् । भोलि नेपाली टिम भोलि शनिबार नेपाली टोली युएई प्रस्थान गर्दैछ ।
शुक्रबार सर्वाेच्चमा सुनुवाइको क्रममा सन्दीपको पक्षबाट बरिष्ठ अधिवक्ता शम्भु थापा र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए। सन्दीप पक्षधरका वकिलहरुले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्दै विदेशमा खेल्न जान दिनुपर्ने भनेका थिए ।
साथै, बहसका क्रममा अधिवक्ता घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सन्दीपसँग हात मिलाउँदै सम्मान गरेको पनि बताएका थिए । साथै, उनले सन्दीपसँग प्रधानमन्त्रीले हात मिलाएको फोटोसमेत देखाएका थिए। तर, न्यायाधीश खतिवडाले त्यसले न्यायमा कुनै फरक नपर्ने जवाफ दिएका थिए ।