ठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु आइतबार र शनिबार पनि खुल्ने भएका छन् । सरकारले आइतबार र शनिबार सार्वजनिक दिने निर्णय गरेपनि बैंक तथा वित्तीय संस्थाहरु भने ती दुबै दिन खुल्ने भएका हुन् ।
लगातार दुई दिन विदा दिदा बैंकिङ जस्तो अत्यावश्यक सेवा प्रवाहमा समस्या उत्पन्न हुन सक्ने भन्दै नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुको पहलमा सार्वजनिक विदाको दिन खुल्ला हुने शाखा संख्या बढाउने तथा सार्वजनिक विदाको दिन र कार्यालय खुल्ला हुने दिन पनि बैंक तथा वित्तीय संस्थाको काउन्टर खुल्ला रहने समय बृद्धि गर्ने गृहकार्य भएको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सेवा प्रवाह सुचारु गर्ने विषयमा बैंकहरु आफैले व्यवस्थापन गर्ने र त्यसमा राष्ट्र बैंकले पनि केही सहजीकरण गर्ने बताए । यो विषयमा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबीच अनौपचारिक छलफल पनि भइरहेको छ ।
‘अहिले यस विषयमा बैंकहरुसँग छलफल भइरहेको छ, बैंकहरुले हामी आइतबार र शनिबार बैंक खोल्न सक्छौं भनेर भनिरहनु भएको छ, कतिपयले सिफ्ट सिस्टममा सञ्चालन गर्ने भनिरहनु भएको छ,’ उनले विकासन्युजसँग भने ।
अहिले शनिबार तथा सार्वजनिक बिदाका दिनहरुमा बैंक तथा वित्तीय संस्थाका शाखाहरु सीमित संख्यामा मात्रै खोल्ने गरेका थिए । सरकारले दुई दिन सार्वजनिक बिदा दिएपछि आइतबार, शनिबार जस्ता सार्वजनिक बिदाका दिनमा खुल्ने शाखाको संख्या वृद्धि गर्ने, सार्वजनिक विदाका दिनहरुमा काउण्टर खुला हुने समय बढाउने लगायत विषयहरुमा बैंकरहरुबीच छलफल चलिरहेको छ । यस्ता विभिन्न बैंकहरुबाट आएका प्रस्तावहरुमा बैंकर्स संघको बैठकले निर्णय गर्ने एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
सरकारले आइतबार र शनिबार सार्वजनिक दिने निर्णय राजपत्रमा सार्जजिनक गरिसकेको छ । सूचना अनुसार सो निर्णय सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा अस्पताल, स्वास्थ्य चोकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका हुलाक प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ सेवा, आन्तरिक राजस्व, भूमिसुधार, मालपोत, नापी, भन्सार, स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाह मिलाउनुपर्नेछ ।
यसरी सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीले सट्टा बिदा पाउनेछन् । शनिबार र आइतबार सार्वजनिक बिदा दिइने भएपछि कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकिएको छ । सरकारले परीक्षणका रूपमा जेठ १ देखि लागू हुने गरी दुई दिन सार्वजनिक बिदा दिन लागेको छ । बैंक तथा वित्तीय संस्थाहरु विहान ९ बजेदेखि साँझ ६ बजेसम्म खुल्ला गर्ने कि भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।
वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले परीक्षणका रूपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने एवम् शनिबार आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।