बाँके चैत्र ५ गते ।
नेपालगन्जका व्यवसायी अगुवा तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित आचार्यको ५९ वर्षको उमेरमा शनिबार आज बिहान निधन भएको हो ।
नेपालगन्ज न्यूरोडमा घर भएका आचार्यको शनिबार बिहान करिब ९ बजेको समयमा भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा निधन भएको हो ।
नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आचार्य नेकपा मसालबाट राजनिती गर्दै पछिल्लो समय नेकपा माओवादी केन्द्रमा सक्रिय थिए । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका आचार्य खरो स्वभाव र आदर्शवादी व्यक्तिकारुपमा स्थापित नेता हुन् ।
प्युठानको खैरामा जन्मेका आचार्य लामो समय सरकारी जागिरे रहेपनि कर्मचारीकै हैसियतमा राजनितीमा पनि सक्रिय थिए । बहुदल आए लगत्तै भएका कर्मचारी आन्दोलनबाट जागिर गएपछि उनले नेपालगन्जमा व्यवसाय संगै भुमिगत राजनिती गर्दै आएका थिए।