ओलीले देउवालाई भने- तपाईं जेष्ठ नागरिक हो सूर्य चिन्हमा भोट हाल्नुस् !

उज्यालो खबर मुख्य खबर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सूर्य चिन्हमा भोट हाल्ने बताएका छन्। पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीसमेत रहेका देउवालाई व्यंग्य गरेका हुन्।

कांग्रेसले कुनै बेला कम्युनिष्ट सरकारले ६० वर्ष पुगेकालाई गोली ठोक्छ भनी भ्रम फैलाएको उल्लेख गर्दै उनले कांग्रेसले चुनाव प्रचारप्रसारका लागि जे पायो त्यही बोल्ने गरेको आरोप लगाए। ‘तपाईं हामीले सुनेका, छौं ६० वर्षभन्दा माथिका बुढाबुढीलाई कम्युनिष्ट सरकार बन्यो भने गोलि हानेर मार्छ भन्थ्यो। अब बुढाबुढीका छेउमा कांग्रेस जाओस् त,’ उनले भने, ‘बुढो भएर पनि शेरबहादुर देउवा आफैं कांग्रेसमा किन छन् भन्दा, उनलाई त्यो चार हजार भत्ता केही गर्नु छँदै छैन। नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँछन्। शेरबहादुर जीलाई म भन्न चाहान्छु, कमसेकम जेष्ठ नागरिक हो तपाईं सूर्य चिन्हमा भोट हाल्नुस्।’

पुरानो मत परिणामअनुसार एमाले अहिले पनि हरेक ठाउँमा पहिलो रहेको भन्दै अध्यक्ष ओलीले अहिलेको मत परिणामअनुसार एमाले अत्यधिक बहुमतको पार्टी रहेको दाबी गरे। ‘अहिले पनि हरेक ठाउँमा नेकपा एमाले प्रथम पार्टी छ। सबैभन्दा मजबुत र सशक्त पार्टी। अझ यो त पुरानो मत परिणाम हो। आजको मत परिणामले एमाले पहिलो मात्र होइन आजको मतपरिणामले एमाले अत्यधिक बहुमतको पार्टी हो,’ उनले भने। याे खबर आजको नयाँ पत्रिका दैनिकमा छ .।

Leave a Reply

Your email address will not be published. Required fields are marked *