६ फागुन, काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्कृय पारेर फर्किसकेको छ ।
आज बिहान ढुंगेअड्डाको कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो । त्यसको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले ती वस्तु नक्कली बम भएको बताए । ‘तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए । ती वस्तु होक्स (Hoax) रहेछन्,’ एसपी मैनालीले भने ।
बम जस्तो देखिएकाले स्थानीय आतंकित थिए । नेपाली सेनाको टोलीले निष्कृय नपारुन्जेल सो सडकखण्डमा यातायात सेवा पनि बन्द गरिएको थियो । अहिले सो क्षेत्रको जनजीवन सामान्य छ । यातायातका साधन पनि पूर्ववत अवस्थामा सन्चालन भइरहेका छन् ।
नेपाली सेनाको टोलीले निष्कृय नपारुन्जेल सानेपा, कलंकी, बल्खु, नैकाप, सतुंगल, थानकोट र स्वयम्भु क्षेत्रमा सवारी साधनहरुलाई रोकिएको थियो । अहिले सवारी साधन सञ्चालनमा आएसँगै सडकमा सवारी साधनको चापको अवस्था सिर्जना भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।