फिल्म प्रचारमा दीपकको नयाँ शैली आउँदो दशैंमा ‘छक्का पञ्जा ४’

मुख्य खबर

३ मंसिर, काठमाडौं । चलचित्र बनाएर मात्र हुँदैन, चलाउन पनि जान्नुपर्छ । चलचित्र बनाएर प्रचारप्रसार गर्न नजान्ने हो भने अपेक्षाअनुसार व्यापार हुँदैन । नेपालमा चलचित्रको प्रचारप्रसारणमा सबैभन्दा अगाडि छन्, दीपकराज गिरी । उनी आफ्ना हरेक चलचित्रको प्रचारमा नयाँ-नयाँ शैली अपनाउँछन् ।

छायांकन नै शुरु नभएको ‘छक्का पञ्जा ४’को उनले ट्रेलर खिचेर हलमा देखाए । ‘सूर्यवंशी’ हेर्न हलसम्म पुगेका दर्शकले यो चलचित्रको ट्रेलर हेरे र मनोरञ्जन लिए ।

बिहीबार एउटा गीत सार्वजनिक भएको छ, ‘कति बस्छौं माइतीको कौसीमा’ । रिमेक भर्सनको यो गीतमा पनि ‘छक्का पञ्जा ४’को प्रचार गज्जबैले गरिएको छ । रोचक त के छ भने यो गीतको भिडियोमा प्रयोग गरिएका अधिकांश दृश्यलाई नै समेटेर ‘छक्का पञ्जा ४’को ट्रेलर तयार पारिएको छ ।

दीपकराज गिरी र उनको टिमले आउँदो दशैंमा ‘छक्का पञ्जा ४’ रिलिज गर्ने बताइसकेको छ । अर्को वर्षको दशैंमा ‘परदेशी २ र एक्स ९’ पनि रिलिज गर्ने योजनामा निर्माणपक्ष छन् ।

यसैले पनि ‘छक्का पञ्जा ४’लाई चुनौती भने छ । अर्कोतिर आउँदो दशैंमा ठूला ब्यानरका हिन्दी चलचित्र पनि रिलिज हुने पक्का छ । यसैले चलचित्रलाई अहिलेदेखि नै दर्शकको नजरमा राखिरहने योजना दीपक र उनको टिमको हुनसक्छ । यसका लागि दीपक र उनको टिमले चलचित्रको प्रचारका लागि नयाँ-नयाँ विषय सार्वजनिक गरिरहेका छन् ।

यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, बुद्धि तामाङ लगायतको प्रमुख भूमिका रहनेछ । दीपाश्री निरौलाले चलचित्रलाई निर्देशन गर्नेछिन् । चलचित्रका लागि नायिका भने फाइनल गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *