दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयकाे नेतृत्वमा प्रहरीले नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण गरेकाे छ ।
गएकाे शनिवार दार्चुलाका प्रहरी प्रमुख एवम् (डीएसपी) पाण्डेयको नेतृत्वमा नेपाल–चीन सीमा स्तम्भ नम्बर १ मा प्रहरी टोली पुगेर फर्किएको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयाे ।
यसअघि गएकाे जेठ २१ गते सीमा क्षेत्रकाे वस्तुस्थिति बुझ्न १ नम्बर पिल्लर पुगेको नेपाल प्रहरी पुनः शनिवार दोस्रो चोटि त्यहाँ पुगेकाे हाे । डीएसपी पाण्डेयले व्यास गाउँपालिका–१ तिङ्कर भञ्ज्याङमा रहेकाे १ नम्बर सीमा स्तम्भलगायत क्षेत्रको सुरक्षा स्थितिको जानकारी लिनुका साथै समयानुकूल गस्ती गर्न प्रहरीलाई निर्देशन दिनुभएकाे प्रहरीले जनाएको छ ।
डीएसपी पाण्डेयले प्रहरी चौकी सीतापुलको निर्माणाधीन भवन र इलाका प्रहरी कार्यालय तिङ्करको पनि अनुगमन, निरीक्षण गर्नुभएकाे बताइएको छ । १ नम्बर पिल्लर क्षेत्रमा अहिले बाक्लो हिँउका कारण नियमित गस्ती गर्न सकिने अवस्था नरहेको प्रहरी कार्यालयले जनाएको छ ।