जाजरकोट । जाजरकोट र रुकुम पश्चिम जोड्ने एउटा बेलीब्रिज बनाउँदा बनाउँदै भाँचियो । पुल मात्रै भाँचिएन दुई कामदारको ज्यानै गयो ।
तीन जना गम्भीर घाइते भएका छन् । पुल जडान गर्ने जिम्मेवारी पाएको कम्पनीका मानिसहरुले पुल नै कमजोर थियो, भाँचियो भनेका छन् । पुल चाहिँ सडक डिभिजन कार्यालय चौर जहारीले दिएको रहेछ ।
पुलले ३० टनसम्म वजन धान्नु पर्ने थियो । तर १४ टनमै पुल भाँचिएको छ । पुल जडानको जिम्मा पाएको कम्पनीले सडक डिभिजन कार्यालयले नै गुणस्तरहिन पुल खरिद गरेको हुन सक्ने औंल्याएको छ ।
पुल नभाँचिएको भए, केही दिनभित्रैमा जडानकार्य सम्पन्न भइसक्ने निर्माण पक्षले जानकारी दिएको छ ।
घटनापछि सडक डिभिजन कार्यालय चौर जहारीका प्रमुख इन्जिनियर आशुतोष कर्णसँग सम्पर्क गरेका थियौं । तर उनले आफ्नो निजी र कार्यालयले दिएको दुवै मोबाइल अफ गरेका बसेको पायौं ।
त्यसपछि हामीले सूचना अधिकारी इन्जिनियर सुरेश कुमार बस्याललाई सम्पर्क गर्ने प्रयास गरेका थियौं । उनले पनि मोबाइल स्वीच अफ गरेका छन् ।