राजाकै शैलीमा राष्ट्रपति भण्डारी पशुपति पुग्दा पनि विरोध !

उज्यालो खबर मुख्य खबर

काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएको छ । राष्ट्रपतिको सवारीको क्रममा ट्राफिक जाम हुनेदेखि सर्वसाधारणले सास्ती खेप्दै आएको भन्दै यसअघि पनि तीब्र रुपमा आलोचना र विरोध भएको थियो । राष्ट्रपति सवारीमा चिकित्सक कुटिएपछि सुरक्षा ब्यवस्थापन सुधार गर्ने भनी सरकारले नेपाल चिकित्सक संघसँग सहमति नै गरेको थियो । शनिवार महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर पुग्दा पनि राष्ट्रपतिविरुद्ध विरोधका स्वरहरु घन्किए ।

विशिष्ट र अति विशिष्ट व्यक्तिलाई सुरक्षा दिने भन्दै उनीहरुको सवारीको क्रममा सरकारले सडक पुरै खाली गराउने गरेको छ । सडक खाली गराउदा एम्बुलेन्स समेतलाई रोकेर सर्वसाधारणको आवतजावतमै रोक लगाउन थालिएपछि पछिल्लो समय यसको विरोधको तारो बन्न थालेकी छन, राष्ट्रपति विद्यादेवी भण्डारी । भण्डारीको सवारीको क्रममा घण्टौं जाममा परेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नै उनलाई राजासँग तुलना गरेकी थिइन् ।

राष्ट्रपति मुलुकको अभिभावक हो । राष्ट्रपति संस्थालाई सम्मान भावले हेर्नु सबैको दायित्व पनि हो । तर, पछिल्लो समय राष्ट्रपतिले गरेका कार्यसम्पादन र दलीय प्रभाव देखिने खालका कामले विरोध र विवाद थप चर्किदै गएको देखिन्छ । केहिदिन पहिले मात्रै दुबै संसदलाई सम्बोधन गरेर फर्किने कार्यक्रममा वीर अस्पतालअघि चिकित्सक नै कुटिएपछि चौतर्फी विरोध र आलोचना नै भयो । विरोधका स्वरहरु घन्किन थालेपछि सरकारले चिकित्सकसँग सम्झौता नै गर्नुपर्ने अवस्था आयो ।

शनिवार परेको शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपतिको त्यहाँ समेत विरोध भएको छ । मलिन स्वरमा राष्ट्रपतिविरुद्ध नारा लगाइएको छ । भने, महाशिवरात्रि मनाउन पुगेका सर्वसाधारणले खुलेरै उनको विरोध गरेका छन् ।

भीआइपी र भीभीआइपीको सवारीको क्रममा सरकारले प्रदान गर्दै आएको सुरक्षाका कारण सडक जाम गर्ने गरिएपनि यस्तो परम्परा राजाको पालामा भन्दा चर्को बन्न थालेको भन्दै विरोधका स्वरहरु बलिया बन्दै गएका छन् । यता, सरकारले यस्ता सवारीलाई व्यवस्थापन गर्न कार्यविधि नै संशोधनको तयारी गरेपनि जनताले महशुस गर्ने गरि काम हुन नसक्दा विरोध र विवादको तारो राष्ट्रपति बन्न थालेकी छन् । यसले राष्ट्रप्रमुखमाथिको अपमान भयो वा सम्मान भन्ने विषय नै अनुत्तरित छ । राष्ट्रप्रमुखको हेैसिएतले सुरक्षा दिनु सामान्य भएपनि दैनिकी नै खलबलिने गरि गरिने सडक जामले जनस्तरमा आक्रोश थप चुलिदो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *