स्याङ्जामा प्रभु एयरको हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चार जना यात्रु र २ जना कुटपिटमा संलग्नलाई पक्राउ गरेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।
माघ ५ गते दिउँसो साढे २ बजे वालिङ नगरपालिका-८ मालेबगर खेल मैदानमा प्रभु एयरको हेलिकप्टर अवतरण भएको थियो। पाइलट रानेश डंगोलले चलाएको उक्त हेलिकप्टरमा चार जना सवार थिए।
खेल भइरहँदा नै पाइलटले मैदानमा ल्याण्ड गरेपछि केहीबेर तनाव भएको थियो। पाइलटमाथि हातपात समेत भएको थियो।
उक्त हेलिकप्टरमा विनोद गैह्रे, उज्जवल थापा, सुशिल गिरी र खिमबहादुर राना सवार थिए। उनीहरूले जबरजस्ती पाइलटलाई मैदानमा हेलिकप्टर अवतरण गराएको प्रहरी निरीक्षक थापाले बताए।
प्रहरीले उनीहरू चारै जनालाई पक्राउ गरेको हो। यस्तै, आयोजकतर्फका यामबहादुर गुरूङ र सुरेश श्रेष्ठले कुटपिट गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ।
प्रहरीका अनुसार हेलिकप्टरले पनि प्रशासनसँग कुनै अनुमति लिएका थिएनन्। यो खबर सेतोपाटी खबर मा छ ।