मनग्य आम्दानी तरकारी खेतीबाट

उज्यालो खबर मुख्य खबर

बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे । उमेरले बुढ्यौली लागे पनि उनमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन । सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो । उनको तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ ।

तरकारी खेतीबाट सापकोटाले लाखौँ रुपैयाँको सम्पत्ति जोडिसक्नुभएको छ । उनले छ भाइबहिनी, छोराछोरी हुर्काउने, पढाउने र विवाहसमेत तरकारी खेतीकै आम्दानीले गरे । बिहानै उनी बागलुङ बजारमा तरकारी बिक्री गर्न आउँछन् ।

“मसित पुख्र्यौली सम्पत्ति थिएन, वर्षौं अरुको घरमा बसेर काम गरेँ, तरकारी खेतीमा लागेपछि घर सम्पत्ति जोडेँ”, सापकोटाले भने ।

पहिला तरकारी खेती गर्ने चलन थिएन । उत्पादन भएको तरकारी पनि बिक्री हुँदैनथ्यो । “अहिले उत्पादन गरेको सबै बिक्री हुन थालेको छ, बजारमा तरकारीको माग बढ्दै गएको छ”, उनले भने । “हातखुट्टा चल्दासम्म तरकारी उत्पादन गर्छु”, उनले भने। रु तीन लाखदेखि रु पाँच लाखसम्म वर्षमा तरकारी बिक्रीबाट कमाइ हुने गरेको सापकोटाको भनाइ छ ।

तरकारी खेतीले सापकोटा परिवारको जीवनशैलीनै बदलिएको छ । बिहान तरकारी बेच्न बजार पुग्ने र दिउँसो साँझ बारीमा काम गर्ने आफ्नो दैनिकी भएको सापकोटाले बताए ।

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले सापकोटालाई समय–समयमा अनुदानसँगै प्राविधिक सहयोग गर्दै आएको बताए। उनलाई नयाँ प्रबिधिसँग जोड्नका लागि तालिम, परामर्श र सुझाव दिँदै आएको पुनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले गत वर्ष उहाँलाई रु दुई लाख अनुदानसमेत दिएको पुनले बताए । यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *