सरकार स्थानीय मदिरा ब्राण्डिङको योजना बनाउँछ, प्रहरी खोजी–खोजी नष्ट गर्छ !

उज्यालो खबर मुख्य खबर

प्रदेश १ सरकारले ‘लोकल रक्सी ब्रान्डिङ गर्ने’ योजना अघि सारेको दुई वर्षभन्दा बढी समय भइसकेको छ।

सरकार वार्षिक नीति कार्यक्रम तथा बजेटमै यस्तो योजना अघि सार्ने तर प्रहरी भने खोजी–खोजी स्थानीय रक्सी नष्ट गर्ने विरोधाभाष प्रदेशमा बारम्बार प्रकट भइरहेको छ। 

यही क्रममा शुक्रबार बिहान विराटनगर महानगरपालिका-१२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर प्रहरीले ठूलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ।

राजधानी सहरमै स्थानीय मदिरा बरामद गरेको प्रहरीले प्रदेशका अन्य जिल्लामा पनि यस्तो अभियान चलाएको सूचना सञ्चार माध्यममा पठाउने गरेको छ। तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामै प्रदेशले स्थानीय रक्सीको ब्राण्डिङ गर्ने योजना अघि सारेको थियो। 

उनीपछि भीम आचार्य र राजेन्द्र राई नेतृत्वमा दुई वटा सरकार प्रदेशमा बनिसकेको छ। यी तीन वटै प्रदेश सरकारले लोकल रक्सीको ब्राण्डिङ गर्ने योजना नीति कार्यक्रममै निरन्तरता दिएका थिए। 

यद्यपि प्रदेश सरकारको योजना कार्यान्वयन भने भएको छैन। यसले सरकार नीति बनाउने र प्रहरी भने रक्सी नष्ट गरेको गर्यै गर्ने अवस्था छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए अनुसार प्रहरीले शुक्रबारमात्रै घरेलु मदिरा बनाउने २ हजार ८ सय ८० लिटर कच्चा पदार्थ, तयारी मदिरा १२५ लिटर र मदिरा बनाउने भाडाका सामानहरू ३१ थान बरामद गरेको छ।

बरामद गरेको सामान अन्दाजी २ लाख ४४ हजार ९७० मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ।यो खबर सेतोपटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *