अस्ट्रेलियामा नेपालको कालो धन भित्रदैछ- बैंकर अनिल केशरी शाह !

उज्यालो खबर मुख्य खबर

पूर्व नेपाली बैंकर अनिल केशरी शाहले नेपाली नागरिकहरू जिम्मेवार नभएसम्म हुण्डी कारोबार नरोकिने बताएका छन्।

अन्तर्राष्ट्रिय नेपाली युवा व्यवसायी महासंघ (फीने) ले सिड्नीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै शाहले राज्यको कमजोर नीतिको फाइदा उठाउँदै केही बढी पैसाको लोभमा नेपाली मुलका नागरिकबाटै अस्ट्रेलियामा हुण्डी व्यवसाय फस्टाएको बताए।

उनले विदेशमा कमाउन आएको नेपालीले केही बढी पैसा पाउने र पठाउने वित्तिकै आफन्तको हात पर्ने हुण्डी छोडेर वैधानिक बाटोबाट पैसा पठाउनुपर्ने जिकिर गरे।

‘चाडै पुग्ने, चार रूपैया फाइदा हुने बाटो सबैले अपनाउँछन्। तर यो पैसा हङकङ र ग्वान्जाउ पुग्छ, नेपाल पुग्दैन भन्ने कुरो बुझाउनु जरूरी छ’, उनले भने, ‘सबै कुरा बुझेर नागरिक जिम्मेवार भएमा मात्र हुण्डीको अन्त्य हुने र आधिकारीक च्यानलमार्फत पैसा नेपाल भित्रिनेछ।’

शाहले अस्ट्रेलियामा यतिबेला नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि २.७ बिलियन डलर शैक्षिक शुल्क खर्च गर्दै आएको भन्दै यहाँ विद्यार्थीले कमाएर पठाएको रकम नेपाल नपुगेको जिकिर गरे।

उनले यसका लागि अस्ट्रेलियासँगको आगामी कुटनीतिक सम्बन्धको बारेमा राज्यले गम्भीर हुनुपर्ने बताए। 

‘७५ हजार विद्यार्थी र अन्य नेपालीले पठाएको अर्बौ पैसा आधिकारीक च्यानलबाट नेपाल नपुग्दा रेमिट्यान्स शून्य देखिने र नेपालबाट खर्बौ रकम शैक्षिक शुल्कको रूपमा अस्ट्रेलिया भित्रिदै गर्दा यसले आपसी सम्वन्ध र हेर्ने दृष्टिकोणमा नकारात्मक असर परेको छ’, शाहले भने। 

राज्यको कडा निगरानी र नागरिक सचेतनानै हुण्डी रोकथामको महत्वपूर्ण पाटा भएको शाहले खुलाए।

‘यति मात्र होइन, पर्यटकलाई समेत बैंक एकाउन्ट खोल्न सुविधा प्राप्त हुने अस्ट्रेलिया नेपाली कालोबजारीका लागि स्वर्ग बनेको शाहले खुलासा गरे। 

नेपालका भ्रष्टले आफ्नो कालोधन लुकाउने सुरक्षित स्थानका रूपमा पछिल्लो समय अस्ट्रेलिया रहेका चर्चा गरे। 

‘यहाँ पैसा ल्याउनेको लागि कुनै धनको वैधानिक स्रोत खुलाउनुपर्दैन। अमेरिकामा दश हजार भन्दा बढी रकम जम्मा हुँदा आम्दानीको स्रोत खुलाउनुपर्ने भए पनि अस्ट्रेलियामा अनिवार्य छैन’, उनले भने, ‘यसै कारण पनि अस्ट्रेलिया यतिखेर नेपाली कालोधनको सुरक्षीत थलो बनेको हो।’

नेपालबाट हुन्डीको माध्यमबाट पैसा जाने मात्र हैन आउने काम समेत भइरहेको भन्दै शाहले बैंकहरूलाई सरल र सहजरूपमा बिदेशी मुद्राको कारोबारमा सुविधा दिनुपर्ने बताए।

पूर्व सिओईसमेत रहेका शाहले नेपालमा जलविद्युत, अतिथि सत्कार र साहसिक खेलकुदजस्ता विषयमा लगानी गर्न सकिने अवधारणा समेत प्रस्तुत गरेका थिए। 

उनले नेपालमा लगानी गर्दा अस्ट्रेलियासँग तुलना नगर्न आग्रह गरे। शिक्षा र स्वास्थ्यमा नेपालले मनग्गे प्रगति गरेको भन्दै शाहले भने निराशा भइहाल्नुपर्ने अवस्था नरहे पनि उत्साह उमंगको वातावरण नरहेको स्वीकार गरे।

‘यतिखेर आर्थिक संकट छ। रेमिट्यान्स खाडी मुलुकमै सिमित छ। अस्ट्रेलिया, अमेरिका र युरोपबाट आउने रेमिट्यान्स लगभग शून्य छ, यसैले पनि यता हुण्डी फस्टाएको छ’, उनले भने। 

पैसा र पानीलाई रोक्न नसकिने भन्दै उनले यसलाई करको दायरामा ल्याउन राज्य जिम्मेवार बन्नुपर्ने बताए। 

कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदूत दिपक खड्काले बैंकर शाहलाई फुलगुच्छाले स्वागत र सम्मान गरेका थिए। कार्यक्रममा फीनेका दिपक ज्ञवाली, युवा व्यवशायी डीला खरेललगायतले बोलेका थिए। यो खबर सेतोपटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *