बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्।

उज्यालो खबर मुख्य खबर

बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि बिहीबार त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्।

केही दृष्टिविहीनको समूह बिहीबार बिहान मुख्य प्रवेशद्वारबाट पस्न खोजेपछि बौद्ध विकास समितिका सुरक्षाकर्मीले बाटो छेकेर दुर्व्यवहार गरेका हुन्।

विकास समिति सुरक्षागार्डको पोसाक लगाएका पाँच-छ जना सुरक्षाकर्मीले दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका थिए। केही प्रहरी पनि त्यहाँ उपस्थित थिए।

यो दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भइरहेको छ। भिडिओमा बौद्ध विकास समितिका कर्मचारीले दृष्टिविहीनहरूको बाटो छेकेको र जबर्जस्ती लठ्ठी खोसेको, धकेलेको देख्न सकिन्छ।

हामीले यसबारे बौद्धका प्रहरी निरीक्षक विशाल तामाङसँग कुरा गर्दा उनले दृष्टिविहीनहरू बौद्ध क्षेत्रमा पस्न खोजेपछि सुरक्षाकर्मीहरूले रोकेको र त्यही क्रममा यो घटना भएको जानकारी दिए।

घटनास्थलमा बौद्ध विकास समितिका सुरक्षाकर्मीसँगै केही प्रहरीको उपस्थिति थियो। धकेलाधकेलपछि त्यहाँ खटिएका प्रहरीले थप जनशक्ति बोलाएका थिए। समितिका सुरक्षाकर्मीले दृष्टिविहीनका तीनवटा लठ्ठीसमेत भाँचेको उनले बताए।

‘हामीले दुवै पक्षलाई राखेर छलफल गराएका थियौं,’ प्रहरी निरीक्षक तामाङले भने, ‘पछि सुरक्षाकर्मी र विकास समितिका कर्मचारीले दृष्टिविहीनहरूसँग माफी मागे।’

समितिले दृष्टिविहीनहरूलाई तीन-तीनवटा लठ्ठी र चस्मा किनिदिएको उनले जानकारी दिए।

धार्मिक सम्पदा क्षेत्र भन्दै बौद्ध परिसरमा भिख माग्न, गीत गाउन निषेध गरिएको छ। ती दृष्टिविहीनहरू गीत गाउँदै माग्न आएको भन्दै प्रवेशद्वारमै रोक्न खोजिएको थियो। रोक्ने नाममा उनीहरूको लठ्ठी खोस्ने र हात हाल्नेसम्म घटना भयो।

सम्पदा क्षेत्रमा गीत गाउन, होहल्ला गर्न नपाइने नियम सबैतिर र सबैका लागि बराबरी लागू छैन।

हनुमानढोका दरबार क्षेत्रमा सेनाकै ठूल्ठूला गाडी ओहोरदोहोर गरिरहेका हुन्छन्। साँझ-बिहान अरू सवारी पनि निर्वाध आउजाउ गर्छन्। गीत-संगीतले भन्दा त्यस्ता गाडीको आवाजले सम्पदा क्षेत्रलाई बिथोलेको छ।

सम्पदा क्षेत्रमै विभिन्न सार्वजनिक समारोहदेखि सांगीतिक कन्सर्टसम्म भएका प्रशस्तै उदाहरण छन्। यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *