रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ठूलोभेरी सञ्चार केन्द्रले चलाएको रेडियो नयाँ नेपाल एफएम ९८.२ मेगाहर्जले पत्रकारहरूलाई पारिश्रमिक नदिएपछि आन्दोलन भएको छ।
एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी गरी ६ जना मंगलबारदेखि आन्दोलनमा छन्।
उनीहरूले पारिश्रमिकबापत १० लाख रूपैयाँ पाउनुपर्ने बताएका छन्।
पत्रकार हिरा परियार, सत्यबहादुर बटाला, सुनिल विक, प्रकाश गौतम, कल्पना विक र सीता शाहीले आफूहरूले काम गरे पनि रेडियोले पारिश्रमिक नदिएको बताए।
रेडियो सञ्चालन समितिका अध्यक्ष मानबहादुर चनाराले पारिश्रमिक नदिएको उनीहरू बताउँछन्। पारिश्रमिक माग्दा उल्टै धम्की दिने गरेको भन्दै पत्रकारहरू आन्दोलनमा छन्। उनीहरूले मंगलबार विरोध र्याली निकालेका थिए।
पत्रकार महासंघ रूकुम पश्चिम शाखा र अन्य पत्रकार संघसंस्थाले पनि आन्दोलनरत पत्रकारहरूलाई तुरून्त पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन्। असार ९ भित्र पारिश्रमिक उपलब्ध नभए थप आन्दोलन गर्ने चेतावनी उनीहरूको छ।