नेपालगन्ज : रिकभरिङ नेपालले नेपालगन्जमा लागू औषध दुर्ब्यसनीहरुले भोग्दै आएका विभेद र हिंसाको बारेमा सरोकारवाला निकाय संग छलफल गरेको छ ।
लागू औषध प्रयोगकर्ताले परिवार, समाज र राज्यका विभिन्न अंगबाट भोग्दै आएका विभेद र हिंसा कसरी कम गर्न सकिन्छ र उनिहरुलाई कसरी उपचारमा सरिक गराउन सकिन्छ भनेर नेपालगन्जमा सरोकारवाला निकाय संग रिकभरिङ नेपालले समन्वय सहितको छलफल गरेको हो ।
कार्यक्रममा सहभागीहरुले लागू औषध प्रयोगकर्ताले जिल्लामा यौन तथा लैङ्गकि हिंसा र लागू औषध प्रयोगकर्ता भएकै कारण बिभेदको सामना गर्नुपरेको यथार्थलाई चिर्न जिल्लामा रहेका सबै सरोकारवाला निकायले मिलेर कार्य गर्नुपर्ने बताएका थिए ।
साथै सहभागीले अहिलेको अवस्थामा बाँके जिल्लामा लागू औषध प्रयोगकर्ताको अवस्था दयनिय रहेको बताएका छन् साथै प्रशासनले यो क्षेत्रमा उल्लेख कार्य गर्नुपर्ने समेत बताएका छन् ।
बिभेदको कारणले हुनसक्ने सम्भावित जोखिमको आकलन गर्दै सो को न्यूनीकरणको लागि सबै सरोकारवाला निकायहरुले समन्वयको भुमिका सृजना गरि कार्य गर्नुपर्ने सहभागीहरुले धारण राखेका थिए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका महिला बिकास अधिकृत शोभा शाहले लैङ्गकि तथा अन्य किसिमको हिंसा हेर्न र त्यसको न्यूनीकरण तथा उद्दारको लागी पालिकाले संजाल समेत निर्माण गरेको बताउनुभएको छ ।
लागू औषध प्रयोगकर्ताहरुमा विभिन्न किसिमको विभेद हुने गरेको छ र त्यसको समाधानको लागि के कसरी कार्य गर्न सकिन्छ भनेर आगामी दिनमा योजना बनाउन तथा कार्यान्वयनको पक्षमा अगाडी बढ्ने कार्यक्रम निकै फलदायी भएको समेत बताउनुभयो ।
कार्यक्रममा बाँकेका सहायक सिडिओ टोपेन्द्र केसी, नेपालगन्ज उपमहानगरपालिकाका कृष्ण प्रसाद जोशी, लागू औषध परामर्शका अध्यक्ष दिपेन्द्र कुमार जोशी, गैसस महासंघका प्रतिनिधि जया रेग्मी, नेपाल प्रहरी महिला सेलका प्रतिनिधि दिल सरा राना बाँकेमा कार्यरत मानव अधिकारकर्मी, संचारकर्मी लगायत सहभागी रहेको कार्यक्रमको सहजीकरण चेन्ज टिमकी कार्यक्रम संयोजक तथा रिकभरिङ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष इन्द्रा कुमार जिसीले गर्नुभएको थियो ।