तीन सातामै सात हजार रूसी सैनिक मारिए !

उज्यालो खबर मुख्य खबर

युक्रेनमाथि आक्रमण गरेको तीन सातामै सात हजार रूसी सैनिक मारिएका छन्। 

अमेरिकी गुप्तचर संस्थाका रिपोर्टहरूले अहिलेसम्म सात हजार बढी रूसी सैनिक मारिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। निकै कम हताहतीको आकलन गर्दा पनि यति सैनिक मारिएको अमेरिकी गुप्तचरको रिपोर्टमा उल्लेख गरिएको छ। 

तुलनात्मक रूपमा कमजोर मानिएको युक्रेनी सेनाको प्रतिरोधमा यति धेरै रूसी सैनिक मारिएपछि सुरक्षा मामिला विज्ञहरू अचम्ममा परेका छन्।

अमेरिकाले इराक र अफगानिस्तानमा लडेको २० वर्ष लामो युद्धका क्रममा पनि सात हजार अमेरिकी सैनिक मारिएका थिएनन्।

दोस्रो विश्वयुद्धका क्रममा जापानको आइओ जिमामा ३६ दिनसम्म लडाइँ भएको थियो। उक्त लडाइँमा झन्डै सात हजार नौसैनिक मारिएका थिए। 

अमरिकी गुप्तचरहरूले अहिलेसम्म भएका रूसी सेनाका ध्वस्त भएका ट्यांक र अरू कुरालाई आधार मानेर मारिएका रूसी सैनिकबारे तथ्यांक निकालेका हुन्। अहिलेसम्म रूसी सेनाका चार जना जनरलले पनि युक्रेनमा ज्यान गुमाएका छन्।  

युक्रेन आक्रमणमा  १ लाख ५० हजारभन्दा बढी रूसी सैनिक संलग्न छ। तीमध्ये  १४ देखि २१ हजार घाइतेहरू छन्। 

ठूलो संख्यामा आफ्ना सैनिक मारिएका कारण रूसी स्थल सेनाले आफ्नो कारबाहीलाई तीव्र गतिमा अघि बढाउन नसकेको अमेरिकी अधिकारीहरूले बताएका छन्। 

रूसी सेनाको युद्ध सुरू भएको अर्कै दिन नै युक्रेनको राजधानी किएभ नजिक पुगिसकेका थिए। पछि झन्डै ६५ किलोमिटर लामो रूसी सेनाको गाडीको लावालस्कर पनि किएभतिर अघि बढेको थियो। तर रूसी सेनाले अहिले पनि किएभबाहिर रोकिएको छ। स्थलभन्दा हवाई आक्रमणलाई रूसले जोड दिएको छ। 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन अधिकारीहरूले युद्धमा मर्ने रूसी सैनिकको उच्च संख्याले युद्ध जारी राख्ने उनीहरूको इच्छालाई नष्ट गर्न सक्ने  बताएका छन्।  

रूसले युक्रेनको प्रतिरोधमा आफ्ना कति सैनिक मारिए भन्ने विवरण दिएको छैन। केही दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणमा १३ सय सैनिक मारिएको बताएका थिए। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिने फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमणको घोषणा गरेका थिए। 

रूसी सेनाविरूद्ध लड्न अमेरिकाले युक्रेनलाई आत्मघाती ड्रोन दिने

अमेरिकाले रूसी सेनाविरूद्ध लड्न युक्रेनलाई थप अत्याधुनिक हतियारहरू दिने भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकाको संसदलाई सम्बोधन गर्दै अझै धेरै सहयोग गर्न आग्रह गरेपछि राष्ट्रपति जो बाइडेनले ८ सय मिलियन डलर बराबरका थप सैन्य सामग्री युक्रेनलाई दिने निर्णय गरेका छन्।

अमेरिकाले दिन लागेका हातहतियारमा बोक्न र प्रयोग गर्न सजिला हुने हतियार रहेको स्रोतलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

युक्रेनी सैनिकहरूले अहिलेसम्म रूसी आक्रमणविरूद्ध उच्च स्तरको युद्धकौशल देखाएका छन्।

ट्याकंजस्ता ठूला-ठूला सामग्री दिँदा प्रयोग गर्न विशेष सीप र धेरै जनशक्ति चाहिने भएकाले अमेरिका र युरोपियन युनियनका मुलुकहरूले बोक्न सकिने र प्रयोग गर्न सजिला हतियार युक्रेनलाई दिइरहेका छन्।

अमेरिकाले अब युक्रेनलाई आत्मघाती ड्रोनहरू पनि दिने भएको छ। यी ड्रोनको नाम कामीकाजी हो। दोस्रो विश्वयुद्धका बेला जापानीहरूले अमेरिकालगायत शत्रु मुलुकहरूका युद्धपोतहरूमा स-साना जहाज पाइलटसँगै झोसेर आक्रमण गर्थे। त्यहीँबाट यी आत्मघाती ड्रोनको नाम पनि कामीकाजी राखिएको हो। बिस्फोटक पदार्थले भरिएका यस्ता ड्रोन पिठ्युँमा बोक्न मिल्ने हुन्छन्। निशानामा पुगेपछि त्यही बिस्फोटक पदार्थ पडकिन्छ। यसले ६ माइलसम्म मार हान्न सक्छ।

रूसी सैनिकका ट्यांक र साना बटालियनलाई लक्षित गरी यस्ता ड्रोन प्रयोग गर्न सकिने अमेरिकी अधिकारीहरूले बताएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *