काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाइने योजना छ। होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाई तथा इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिए। ‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङकन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्नेगरी विशिष्टिकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौं,’ एसएसपी उमेशराज जोशीले भने, ‘बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ।’
अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाएको छ।
मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ।
महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ सुरु गर्ने भएको छ।
यो खवर अन्नपुर्ण पोष्टमा प्रकाशित छ