मन्त्री पदमा रहुञ्जेल नेपाली जनताकै काम गरेर बस्छुः मन्त्री प्रेमबहादुर आले

उज्यालो खबर मुख्य खबर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने बताएका छन्।

उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट पारे। 

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज काठमाडौंमा आयोजित छैठौं राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भने, ‘म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै काम गर्छु। देश र नागरिकभन्दा मेरा लागि ठूलो कुरा अरू केही छैन।’

मन्त्री आलेले दलित, जनजाति समुदायहरू विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैं कटिबद्ध रहेको बताए।

‘दलित समुदायले बनाएका औजारहरू प्रयोग गर्न मिल्ने तर उनीहरूसँग पानी नचल्ने जस्तो विभेदको अन्त गर्नुपर्छ’ उनले भने।

समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरूका पक्षमा आफूले विगतदेखि नै वकालत गर्दै आएको उनको भनाइ थियो। 
दलित समुदायको वृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरूको सहयोगका लागि मन्त्रालय सधैं सकारात्मक रही काम गर्ने उनले बताए। 

गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *