मेरो आत्मकथा भो नलेख्नू : ‘ए टुकी पो रहेछ’ !

उज्यालो खबर मुख्य खबर

मलाई देखेर ‘के हो यस्तो?’ भन्नेहरू २० वर्षमुनिका हुन्। ‘ए टुकी पो रहेछ’ भन्ने र खासै वास्ता नगर्नेहरू ३० मुनिका हुन्।

मलाई हेरेर घोत्लिरहनेहरू ३० कटेकाहरू हुन्। सम्झने शक्तिमा ह्रास आइनसकेकाहरू हुन्। म उनीहरूको प्यारो हुँ, अतिखन्न प्यारो।

उसो त मैले २० मुनिकालाई पनि माया गर्छु। मेरो आदारभाव ३० वरिपरिकालाई पनि हो। बस् उनीहरूले मलाई कम बुझ्छन्। मेरो योगदानको भागिदार कम छन्।

यसो भन्दै गरेको म अर्घाखाँची, खिल्जीको टुकी हुँ। देशका केही भागमा म अझै अस्तित्वमै छु। डोल्पातिर त मलाई आज पर्यन्त बच्चाले पनि चिन्छन्।

खैर, म जे हुँ, जस्तो हुँ बस् टुकी हुँ। भेगअनुसार मेरो बेग्लै नामहरू छन्।

हिजो केही थिएँ। मान्छेहरूलाई आफ्नै रापले केही बनाएँ। आज धेरै गाउँहरूमा अस्तित्वको परिदृश्यबाट बाहिरिएको छु।

सहरले मलाई सहर बनेपछि चिनेन। बजारले सुरु-सुरुमा अपनायो। बजार सहर बन्दै जाँदा मलाई साथै लिएर हिँडेन। छोड्दियो। भुलिदियो…।

कतै छु भने-

गुमनाम छु। घरको खोपामा छु।

धैँसो छु। जीर्ण छु।

रित्तो छु। ज्योति विहीन छु।

बस् छु। बेकामे छु।

आज अकस्मात् कसैको नजर पर्यो ममा। हो, प्रकाश दाइले देख्यो। खोपाबाट जतनले झिक्यो। सुमसुमायो, हेर्यो। पुछपाछ पार्यो र मौन रहेरै आँखाले सोध्यो-

‘ओई टुकी, के भन्छस् त आफ्नो आत्मकथा? म लेख्छु।’

मैले के बोल्नु, तैँले के लेख्नु? म बोलेर के हुन्छ, तैँले लेखेर के हुन्छ?

भो छोडिदे मलाई मेरै अवस्थामा। म निर्जीव, निस्प्राण र बेकामे! म खोपामै ठिक छु। म कुनामै ठिक छु। म चुपचाप ठिक छु। तँ जा, आफ्नो काम गर्। यी पुराना थोकहरू खोज्दै नहिँड्।

पुराना थोकहरूमा पुराना कथा हुन्छन्। एउटा युग हुन्छ। बितेको जीवन हुन्छ। जुन निरस हुन्छ। कहालीलाग्दो हुन्छ। खैर, बरु सुना तेरो जीवन कथा! 

‘कथा, व्यथा र गाथा।

यी तिनै चिजको जरो विगत रहेछ। जन्मिएको कुल, हुर्किएको माटो र बिताएको बालख उमेरलाई प…र राखेर- न कथा हुन्छन्, न व्यथा हुन्छन्, न गाथा हुन्छन्।

यी तिनै चिजको गठजोड छैन त जीवन कहाँ छ? जन्म छैन त मृत्यु छैन। भन् न टुकी- विवाह कहाँ छ?

मेरो जीवनमा पनि जन्म छ। कुल छ। हुर्किएको माटो छ। बिताएको बालख उमेर छ। त्यो उमेरमा तँ सँगै थिइस्। त्यसैले कथा छन्, व्यथा छन् र गाथा छन्। डियर टुकी तँ थिइस् र आज लेखिरहेका अक्षर छन्।

तँ नहुँदो होस् त प्रकाश दाइ हुँदैन्थ्यो। त्यसैले, आज म भन्छु तेरो आत्मकथा- तँ सुन्।

टुकी,

तँ एक्लै थिइस्। हरेक घरमा प्राय: तँ एक्लै हुन्थिस्। पकाउने बेला तँ चुलोमा बस्थिस्। खाने बेला मूलचौकोमा आइपुग्थिस् र सुत्नुअघि तँ केटाकेटी भएतिर जान्थिस्। उनीहरूका अगाडि बलिरहन्थिस् र उनीहरूले पढ्दै गरेको हेरिरहन्थिस्।

तँ सबैको चिज थिइस्। प्यारो थिइस्। तैँले रातहरूमा उज्यालो दिने पहरा मात्रै गरिनस्। तैँले त लाखौँ बच्चाहरूको भविष्य उज्यालो बनाइदिइस्।

अनि भन्छस्- म बेकामे, अहँ! भो नलेख्नू मेरो आत्मकथा!

टुकी, तँ त सबैले बिर्सेको तर कर्मले अमर भएको एउटा मेरुदन्ड होस्। बा/आमाले जन्माए। पाटीमा ‘क’ लेख्न खरीले आफू सकिन पर्यो। आज ‘क’ लेख्ने पाटी कहाँ छ? खरी कहाँ छ? भन न ‘क’ लेख्न सिकाउने ठूला सर कहाँ छन्?

तँ के भन्थिस्? तँ के बोल्थिस्?

तर म लेख्छु। पाटी र खरीको कथा लेख्छु। ठूला सरको योगदान लेख्छु।

हेर, काम सकिएपछि सबै कुराको महत्त्व सकिँदो रहेछ। जसरी तेरो अस्तित्व सकियो। तैँले सकिएको बोध गरिस् र बोल्न इन्कार गरिस्।

तर त्यसो होइन। इतिहासको आफ्नै मूल्य छ। बितेको समय जग हो। त्यही जगमा टेकेर बिजुलीको हाकिम बनेकाहरू मस्तै छन्।

हुनसक्छ, बिजुली हाकिम बनेकाहरूले जागिर नियुक्ती भएको दिन बा/आमालाई सम्झिएनन्। गुरु र विद्यालयप्रति कृतज्ञता व्यक्त गरेनन् होला। फेसबुकमा स्टाटस लेखेर सबैलाई आभार व्यक्त गर्दैगर्दा तँ छुटिस् होला।

तिनले बिर्सँदैमा कहाँ घट्छ यार तेरो मूल्य/ कहाँ सकिन्छ तेरो इतिहास? यो अजम्बरी छ। तँ अमर छस्।

डियर टुकी,

धान कुट्न गएकी आमा राति अबेरसम्म घर नफिर्दा साथी तैँ थिइस्। दैलोमा उभिएर बलेनीमा पिसाब गर्दा पनि तैँले साथ छोडिनस्। स्वस्थानी कथा सुन्न जाँदा छिमेकमा तेरै सहाराले पुगिन्थ्यो। पारीका घरमा मिलमिलाएर बोलिरहेको तैँले, वारिको घरमा आड भरोसा दिन्थिस्।

कहिलेकाहीँ पढ्दापढ्दै झपक्क झुलेर तैँमाथि घोप्टिँदा आफू पोखिनुपूर्व कपाल पोलिदिन्थिस्। केटाकेटीले तँलाई स्यार्न नजान्दा तँ घरमै सल्किएर भाउँतो गरेको पनि छस्।

यी सब गौण हुन्। नजानेर गरेका तेरा बिठ्याइँहरू, तेरा कर्मभन्दा हलुङ्गा थिए। त्यसैले तँ कर्मले गह्रुंगो थिइस्।

खरको छानो। धुरीको धजो। दलिनको भेटी। तखताको कुँडे। गग्रेटाको गाग्रीहरू तेरा सखी थिए। ती तैँजस्तै लोप भए।

गाबु, चौँठी, तमौरो, झेंगा, मिस्ठीलगायतका वस्तुहरूको अवस्था हेर त!

कठै! कसले सम्झनु यिनलाई? कसले लेख्नु यिनको आत्मकथा?

सो माई डियर,

लेट्स गो विथ मी!

हिँड मसँग सहर। मट्टितेल र ज्योतिले तेरो प्राण भरिदिन्छु। र, बस्नू मैसँग!

अनि कहिलेकाहीँ निभाएर बिजुली बत्ती तँलाई सल्काएर, तेरै ज्योतिको उज्यालोमा लेख्नुपर्नेछ पुराना वस्तुहरूको कथा। तीसँग जोडिएका मेरा बा/आमैहरूका व्यथा।

मैले त्यसो गरिनँ भने र लेख्न खोजे भने बिजुलीको प्रकाशमा कथाव्यथा, ती जीवन्त हुनेछैनन्। उज्यालोले भड्काउनेछ मेरो ध्यान र अल्छी गर्नेछन् मेरा औँलाहरूले।

खैर जसो हो… मलाई टुकी कालका कथाहरू टुकी बालेरै खोज्नुछ। लेख्नुछ। मलाई नसोध्नू के प्राप्ती गर्छस् लेखेर, बस् आनन्द प्राप्त गर्छु। बितेको समय फेरि बाँच्छु र सम्झिएर आफ्नो जग वर्तमानमा उभिने प्रयत्न गर्छु।

डियर टुकी,

लेट्स गो विथ मी, माई डार्क सिटी’ यो खबर सेतोपाटी खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *