१५ फागुन, काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।
केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको दूतावासले जनाएको छ ।
दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार १५ जना नेपालीहरु पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना रोमानियामा प्रवेश गरेका छन् ।
रुसले आक्रमण थालेपछि युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीय सहायताको आधारमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ-आफ्ना देशका सिमाना खुल्ला गरिदिएका छन् । नेपालीहरुलाई पनि आवश्यक कागजपत्र बोकेरै तिनै देशतर्फ जान वर्लिनस्थित दूतावासले आग्रह गरेको छ