: दाङ तुलसीपुरस्थित एक जुत्ताचप्पल गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ताचप्पल गोदाममा लागेको आगो इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले झण्डै ५ घण्टापछि आज बिहान ७ बजेतिर नियन्त्रणमा लिएको हो ।
विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । आगलागीमा ५ जनाको निसास्सिएर मृत्यु भएको र मृतक मध्ये ४ जना बालबालिका रहेका डिएसपी अर्यालले जानकारी दिनुभयो ।
मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । मृतकहरु ६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।
शवहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । उनीहरु घरमा सुतिरहेको बेला आज बिहान २ बजेतिर आगलागी सुरु भएको थियो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ । आगो कम भएपछि साढे ७ बजेतिर शव बाहिर निकालिएको थियो । घरको तेस्रो तलाबाट ३ र चौथो तलाबाट २ जनाको शव निकालिएको जनाइएको छ ।