वीरगञ्ज । प्रदेश – २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको छ ।
विरगञ्जका स्थानीय युवाहरुले ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दाबाद’, ‘मुख्यमन्त्री चोर जिल्ला छोर’, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन गरेको हो ।
वीरगञ्जको घण्टाघर स्थितबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर मुख्यमन्त्रीको पुतला दहन गरेको थियो । मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनी विरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेका हुन् ।
मुख्यमन्त्री लालबाबु राउत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका निवासी हुन् भने निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित साँसद हुन् ।
लामो समयदेखि राजधानी प्रदेश–२ को राजधानी वीरगञ्ज कि ? जनकपुर भन्ने विषयमा चर्चा चलिरहेको बेला पनि मुख्यमन्त्रीले केही पनि प्रतिक्रिया दिएका थिएनन् । यद्दपी उनले भित्रभित्रै आफ्नो पद जोगाउनका लागि जनकपुरलाई राजधानी बनाउन पार्टीका नेतासँग सहमति जनाएको उनीहरुको आरोप छ ।
जनकपुरलाई प्रादेशिक स्थायी राजधानी घोषणा गर्नका लागि सोमबार प्रदेशका दुई तिहाइ सांसदहरुले मत दिएका छन् । सोमबार भएको मतदानमा उपस्थित कुल ९९ सांसद मध्ये ७८ सासदले जनकपुरको पक्षमा मतदान गरेको बताइएको छ ।
प्रदेश – २ मा १०४ सांसद रहेपनि ९९ जनाले मात्रै मतदानमा सहभागिता जनाएका थिए । मतदान सकिए लगत्तै सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका थिए । यो खबर news24 मा समबेश छ ।