२९ मंसिर, सप्तरी । गहुँमा मल हाल्ने समय घर्किँदै जाँदा पनि मल नपाएपछि सप्तरीका किसान आक्रोशित भएका छन् । आवश्यकता अनुसारको मल जिल्लामा नआएपछि किसानले दुई दिन अघिदेखि आन्दोलन शुरु गरेका छन् ।
राजविराज २ तेत्तरी गाछीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा तीन दिनदेखि मलका लागि लाइन लाग्दै आएपनि नपाएपछि किसानले कम्पनी अगाडि नै टायर बालेर प्रदर्शन गरेका छन् । बुधबार उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि समेत टायर बालेर प्रदर्शन गरेका छन्
सय बोरा मात्रै आएकाले यस्तो समस्या भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
तत्काल २५ किलोका दरले दिइने
मल नपाएको भन्दै आन्दोलन शुरु गरेपछि तत्काल किसानलाई आधा बोरा अर्थात् २५ किलोका दरले मल दिइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको उपस्थितिमा बसेको सरोकारबालाको बैठकले कृषि सामग्री कम्पनी लिमिटेड शाखा राजविराजमा हाल प्राप्त भएको मल दामासाहीको हिसाबले सबै स्थानीय तहस्थित सूचीकृत सहकारी डिलरलाई स्थानीय तहको सिफारिसमा आपूर्ति समितिको पूर्ण निर्णय अनुसार वितरण गर्ने निर्णय गरेको छ ।
सहकारी डिलरलाई छुट्टयाएर बाँकी रहेको ८ सय बोरा डीएपी मल राजविराजस्थित सहकारी मार्फत् प्रति किसान आधा बोरा वितरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । उनका अनुसार हाल लाइनमा बसेकालाई कुपन मार्फत् मल वितरणको व्यवस्था मिलाइएको छ ।
जिल्लामा आवश्यक मलखादको आपूर्ति मागको आधारमा न्यून भएको हूँदा थप आपूर्तिको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
यता किसानको गुनासो सम्बोधन गर्न माग गर्दै नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, जिल्ला सहकारी संघको कार्यालय निरीक्षण, अनुमगन र किसानसँगको छलफलपछि समूहले ज्ञापनपत्र बुझाएको अध्यक्ष रघुबर साहले बताए । यो समाचार अनलाइन खबर मा छ ।
।