छिमेकी गाउँमा राति नाच हेर्न गएका जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङ रातामाटाका १६ वर्षीय टेकबहादुर बोहराको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ।
बोहरा बुधबार राति सात जना साथीहरू सँगै छिमेकी गाउँ कपुरकोट ५ रिमको ओखरपाटा भन्ने गाउँमा बिहे रहेको हुँदा नाच हेर्न गएका थिए।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बिहे घरको नजिकै काल्नामा बोहराको शव बिहीबार बिहान फेला परेको सेतोपाटीलाई बताए।
बोहरालाई कुटपिट गरी हत्या गरेको आशंकामा अनुसन्धानका लागि ओखरपाटाका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा १८ वर्षीय सुनिल बुढा, १८ वर्षकै टिकाराम विक र २२ वर्षीय अमित सिरपाईली बिक रहेको प्रहरीले जनाएको छ।
हत्या गरिएका टेकबहादुर सँगै उक्त दिन ७ जना मिलेर छिमेकी गाउँमा नाच हेर्न गएका थिए।
टेकबहादुर सँगै गएका प्रमोद बोहराले आफूहरू राति १० बजे बिहे घरमा टेकबहादुर र लेखमणि खड्का नाचिरहेको समयमा एक्कासि आएर टेकबहादुरमाथि आक्रमण भएको बताए।
प्रमोदले फोनमा भने, ‘नाच्ने क्रममा अघि अमित भनेर मेरो नाम लिने मानिस को हो भनेर एक्कासि आक्रमण गरे र दुई पटक हातैले आक्रमण गरेपछि टेकबहादुर त्यही ढलेका हुन्।’
त्यसपछि अन्यले आफूहरूलाई घेरेर राखेको र टेकबहादुरलाई उनीहरूले कुट्दै लगेको प्रमोदले बताए।
प्रमोदले भने, ‘हामीलाई उनीहरूले २० मिनेट जति घेरेर राखे, त्यसपछि हामीले टेकबहादुरलाई फोन हान्दा मोबाइलमा सम्पर्क हुन सकेन अनि हामीले खोज्दा पनि फेला पार्न नसकेपछि हामी घर गएर घटनाबारे बताएका थियौं।’
मृतकसहित दुबै पक्षका युवाहरूले मदिरा सेवन गरेका कारण सामान्य भनाभनमा घटना भएको देखिन आएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ।
प्रहरीसँगको बयानमा पक्राउ परेकाहरूले कुटपिट गर्ने क्रममा भाग्न खोज्दा टेकबहादुरको भिरबाट लडेर मृत्यु भएको बताएका छन्।
रातामाटा र ओखरपाटा गाउँबीचको दूरी पैदलयात्रा गर्दा करिब एक घन्टा टाढा रहेको प्रहरीले जनाएको छ। सेतोपाटी मा खवर छ ।