अमेरिकी गुप्तचर संस्थाहरूले सन् २०२२ को सुरुवातमा रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको दाबी गरेको छ । अमेरिकी अधिकारीहरूले यस कारबाहीमा रूसले करिब १ लाख ७५ हजार सैनिक सहभागी हुने बताएको छ ।
युक्रेनी सीमामा तैनाथ भएका रूसी सैनिक । फाइल तस्बिर : रोयटर्स
बाइडेन प्रशासनका एक उच्च सैनिक अधिकारीले समाचार संस्था एपीसँग गरेको कुराकानीमा रूसी सेना युक्रेनी सीमाआसपासमा तैनाथ भइसकेको बताएका छन् । रूसले बाइडेन प्रशासनसँग युक्रेनलाई नेटो गठबन्धनमा सहभागी नगराउन दबाब दिइरहेका बेला अमेरिकी सैनिक अधिकारीको यस्तो भनाइ आएको थियो ।
गुप्तचर अधिकारीहरूले रूसले नेटो र युक्रेनलाई बदनाम गराउन खोजिरहेको पनि दाबी गरेका छन् । रूसले फेक मिडिया आउटलेटको प्रयोग गरेर प्रचारबाजी गरिरहेको पनि अमेरिकी आरोप छ । यसअघि शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि सैन्य आक्रमण निकै चुनौतीपूर्ण काम हुने बताएका थिए ।
आफ्नो सरकारको उद्धेश्य रूसको सम्भावित आक्रमण रोक्ने भएको पनि बाइडेनको भनाइ थियो । शुक्रबार नै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनिकोवले रूससँग जोडिएको क्रिमियामा ९४ हजार ३ सय रूसी सैनिक तैनाथ भएको बताएका थिए । यसलाई रूसले बढाउने सम्भावना रहेको भन्दै उनले सतर्क रहनुपर्ने पनि बताएका थिए ।