रमेश क्षेत्री, नेपालगन्ज : जानकी गाउँपालिकामा समुहमा मिलेर पशुपन्छी पालन गर्नेहरु अधिकांस महिला किसानहरु छन् । जानकीमा सक्रिय रुपमा ७ वटा समुहले मिलेर पशुपन्छी पालन गरेको पाइन्छ । जानकी गाउँपालिका वडा नम्बर ४ लैनपुरमा रहेको फुलबारी महिला कुखुरा पालन समुहमा १६ जनाको सीमित छ ।
उनीहरु महिनाको एक दिन बैठक बस्छन् र सामुहिक हितका विषयमा छलफल गर्छन् । फुलबारी महिला कुखुरा पालन समुहका महिला किसानहरुको प्रतेक घरमा कुखुरा पालन गरिएको छ । आफ्नो घर खर्च चलाउन परिवारका अन्य सदस्य सँग पैसा माग्न नपरोस् भनेर समुहमा आवद्ध किसानहरुले कुखुरा पालन गर्दै आएको समुहका अध्यक्ष टिका विष्टले जानकारी दिइन् । गाउँपालिकाको पशुसेवा शाखाले कुखुरा पालन सम्बन्धि तालिम दिएपछि उनीहरु समुहमा मिलेर कुखुरा पालन गर्दै आएका हुन् ।
पशुसेवा शाखाले समुहलाई हुर्केका चल्ला पनि दिंदा थप हर्षित भएका उनीहरु यसलाई विस्तारै बढाउँदै लजाने योजनामा रहेका छन् । जानकी गाउँपालिका वडा नम्बर ५ बकसपुरमा रहेको महिला बाख्रा पालन समुहमा १५ जना सदस्य छन् । समुहमा आवद्ध महिला किसानहरुको सक्रियता लोभलाग्दो छ । पालिकाले तालिम दिएर बाख्रा दिएपछि उनीहरुको सक्रियता झनै बढेको हो । समुहकी अध्यक्ष टिना चमार पहिले १÷२ वटा बाख्रा पाल्ने महिला दिदिबहिनीहरु अहिले १५÷२० वटा सम्म पाल्ने गरेको बताउँछिन् । समुहमा आबद्ध भइसकेपछि महिला दिदिबहिनीहरुको आर्थिक अवस्थामा केही सुधार हुदैँ आएको अध्यक्ष चमारले बताइन् ।

जानकी गाउँपालिका २ मा जानकी माछा उत्पादन कृषक समुह गठन गरिएको छ । राम नारायण थारु अध्यक्ष रहेको उक्त समुह भने सक्रिय छैन । समुह सक्रिय नहुँदा किसानहरुले सोचे अनुरुप प्रगति गर्न सकिरहेका छैनन् । उता भैयापुरका महिला कुखुरापालन समुहका हरेक सदस्यको घरमा ४०÷५० वटा कुखुरा पालेको पाइन्छ । समुहमा आवद्ध महिला किसानहरुको घरहरु नजिकै रहेकाले पनि बाक्लै अवस्थामा कुखुरा पालेको अनुभुति हुने गरेको छ । भैयापुर महिला कुखुरा पालन समुहका अध्यक्ष कौशिला सुनार १५ जना सदस्य समुहमा रहेको उल्लेख गरिन् ।
समुहमा आवद्ध महिला किसानहरुमध्य केहीले व्यवसायिक रुपमा बोइलर कुखुरा पालन गर्ने र केहीले कम मात्रमा कोइलर, लोकल जस्ता कुखुरा पालन गर्दै आएको सचिव मन कुमारी सुनारले जानकारी दिइन् । आर्थिक स्थिति कमजोर रहेको समुदायमा गाउँपालिकाले समुह मार्फत जिविकोपार्जनका लागि सहयोगी कार्यक्रम संचालन गर्दै आएको पशुसेवा शाखाका प्रमुख दिल बहादुर खड्काले जानकारी दिए । जानकी ३ मा उज्यालो महिला बाख्रा पालन समुहका महिला किसानहरुले हरेक महिनाको १ गते बैठक बसेर छलफल गर्ने नयाँ कार्ययोजनाहरु बनाउने गरेका छन ।
समुहमा आवद्ध भएपछि स्थानीय सरकारले पनि बेला बखतमा सहयोग गर्ने र परेको समस्या समाधानका लागि सहज हुने गरेको उज्यालो महिला बाख्रा पालन समुहका ताजरुन खाँले बताइन् । जानकी गाउँपालिकामा आर्थिक स्थिति कमजोर हुनेहरुलाई समुह मार्फत सहयोग र सहजीकरण गरिंदै आइएको छ । जसले गर्दा किसानहरुलाई कृषि कर्ममा लाग्न र आर्थिक आम्दानी गरि परिवारको आवश्यकता परिपूर्ति गर्न सहज हुदैँ आएको छ । ( साभार : किसान आवाज डटकम)