केही वर्षअघिसम्म नलगाड नगरपालिका–१०, रग्दाको अधिकांश खेतबारी बाँझै हुन्थ्यो। अहिले भने घरैपिच्छे लसुन खेती थालिएको छ । गाउँ हराभरा देखिन्छ । आर्थिक उपार्जन बढ्ने आशाले स्थानीय खुसी देखिन्छन् ।
स्थानीय हर्कबहादुर थापाका अनुसार विगतमा सिँचाइ अभाव भएको भन्दै नलगाड नगरपालिका ८, ९ र १० को जग्गा बाँझै रहन्थ्यो । रग्दा र रोलीगाउँका कतिपय किसानले जग्गा बाँझै राख्नुभन्दा सुर्ती खेती लगाउँथे । अहिले भने लसुन खेतीले गाउँ हराभरा भएको छ,’ उनले भने, ‘हाम्रो मन पनि खुसी छ ।’
हर्कबहादुरजस्तै नलगाडको मैदे, रोली, रग्दालगायत गाउँका कृषकलाई पछिल्लो समय लसुन खेतीमा मोह बढेको पाइएको छ । उक्त गाउँका किसानले खेतबारीमा गहुँ, तोरी र तरकारी खेतीको साटो लसुन खेती गरेका छन् । रग्दाका हर्कबहादुरसँगै भीमबहादुर रावत, डम्बरबहादुर रावतले व्यावसायिक लसुन खेती थालेका छन् । मनग्गे आम्दानी हुने भएपछि ८ रोपनी खेतमा लसुन लगाएको भीमबहादुरले बताए । प्रतिरोपनीमा चार क्विन्टल जति लसुन उत्पादन हुने रहेछ। यसबाट एक रोपनीबाट करिब २४ हजार रुपैयाँ आम्दानी हुने उनले बताए । उनका अनुसार गहुँ लगाउँदा मुस्किलले दुई हजाररुपैयाँको फल्थ्यो । रग्दाका किसानले लसुनसँगै चना खेतीमा जोड दिएका छन् । य ‘सिँचाइ सुविधा नहुँदा आकाशेपानीको भरमा खेती गर्ने गरेका छौं,’ भीमबहादुरले भने, ‘पानी र मलबिना उत्पादनमा ह्रास आउने हो कि भन्ने चिन्ता पनि छ ।’
नलगाडको रग्दालगायत क्षेत्रमा करिब सय किसानले चार सय रोपनी खेतबारीमा लसुन लगाएका छन् । उनीहरूले ऋणमा पाइप किनेर सिँचाइ गर्ने गरेका छन् । नलगाड नगरपालिका र सिँचाइ विकास डिभिजन कार्यालयले सिँचाइ सुविधा पुर्याउन ध्यान नदिएको स्थानीय किसानको गुनासो छ ।
नगरपालिकाले भने ८, ९ र १० वडालाई लसुन उत्पादनको पकेट क्षेत्र घोषणा गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले उक्त वडाका किसानलाई बीउ, मललगायतमा७५ प्रतिशत अनुदान सहयोग गरिएको बताए ।
उनका अनुसार अधिल्लो वर्ष लसुन खेती गर्ने किसानलाई १० लाख रुपैयाँ अनुदान दिइएको थियो । ‘हामीले किसानको सहजताका लागि उक्त क्षेत्रमा कृषि प्राविधिक पनि परिचालन गरेका छौं,’ उनले भने, ‘नगरपालिकाले सहकारी संस्थासँग समन्वय गरी लसुनको बजारीकरण गर्ने जिम्मा पनि लिएको छ ।’ यस वर्ष नलगाडमा करिब चार सय क्विन्टल लसुन उत्पादन हुने अनुमान गरिएको उनले बताए ।
नलगाड नगरपालिकाले वडा १, २ र ४ लाई मह, वडा नं. ५ लाई मकै, वडा नं. ६ लाई आलु, वडा नं. ७ र ८ लाई धान तथा ८, ९ र १० लाई लसुन उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ । वडा नं. ३ लाई अलैंची र १३ लाई स्याउ उत्पादनको पकेट क्षेत्र घोषणा गर्ने तयारी छ । अब लसुन उत्पादन हुने अन्तिम चरणमा छ। यो क्षेत्रमा अहिले लसुन निक्कै राम्रो छ हेरौ कति उत्पादन हुन्छ एक किसान बताउँछन्।