नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : साइबर सुरक्षा नीति अध्ययन गर्न कार्यदल गठन

उज्यालो खबर हस्पिटालिटी शो

सरकारले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा  कार्यदल बनाउने निर्णय गरेको छ ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज पदभार ग्रहण गर्दै सो निर्णय गरेकी हुन् । मन्त्री थापाले  सञ्चार र  सूचना प्रविधिको विकासबिना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । एकअर्कालाई सहयोग गर्दै कमजोरी सुधार गरेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो ।

उनले पूर्व सञ्चार मन्त्रीले बनाएका सही कार्ययोजनालाई लिएर अगाडि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।उनले  नेपाललाई नयाँ युगमा लैजानका लागि ‘डिजिटल नेपाल’ को आकाङ्क्षा लिइएको बताउँदै भनिन्, ‘आजको सूचना, सञ्चार, प्रविधिको दुनियाँमा सञ्चार मन्त्रालय अतिसंवेदनशील मन्त्रालयभित्र पर्छ, यसले सम्पूर्ण राष्ट्रिय सुरक्षाको गहन जिम्मेवारी लिएको हुन्छ, जनता र सरकारको बीचको संवाद, सूचना आदानप्रदान, सूचना प्रवाह गर्ने र सुसूचित गर्न, जनचेतना प्रवाह गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।’    

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपालको सपना पूरा गर्ने उद्देश्यले मन्त्रालयले नागरिक एप कार्यान्वयनमा ल्याउनका साथै सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याउने योजना कार्यान्वयन गरिरहेको मन्त्री समक्ष जानकारी गराए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *